logo-img

ए डिभिजन लिग : खुमलटारलाई एनआरटीले हरायो

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा खुमलटार युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी)ले दोस्रो जित निकालेको छ ।
 
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० औं चरणको पहिलो खेलमा एनआरटीले सुखद् नतिजा निकालेको हो । एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक गोल गरे । खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए । 

सुरुवात प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली पहिलो हाफमा गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए । खेलको २३ औं मिनेटमा एनआरटीका निकोलस सङले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको प्रयास निकै फितलो भएको थियो । लगत्तै खुमलटार काउन्टरमा गरेपनि सफल हुन सकेन । ३१ औं मिनेटमा खुमलटारका अभिषेक बर्माको लामो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिँदा खुमलटारको अवसर खेर गएको थियो । 

खेलको ३३ औं मिनेटमा अनमार्क रहेका एनआरटीका सरोज तामाङ  पेनाल्टी बक्सभित्र चुके । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सरोजले अर्को अवसर खेर फाले । फ्री हेडर बललाई सही दिशा दिन नसक्दा खुमलटारका गोलकिपर देव लिम्बूले सहजै नियन्त्रणमा लिएका थिए ।

दोस्रो हाफमा भने एनआरटीले सुधारिएको प्रदर्शन देखायो । आक्रामक देखिएको एनआरटीका लागि पहिलो हाफमा निकै अवसर पाएका सरोजले गोलको खाता खोले । सुशन श्रेष्ठको क्रसमा पासमा सरोजले हेडरमार्फत जाली चुमाउँदा एनआरटीले अग्रता लिएको थियो । 

अग्रता लिएसँगै मनोबल उच्च बनाएकर खेलेको एनआरटीका लागि ८२ औं मिनेटमा सञ्जीवले टोलीको अग्रता दोब्बर बनाए । सन्जिवले कृतिस रत्न छुन्जूको पासमा खुमलटारका डिफेन्डर अभिषेक लिम्बूले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । त्यसको तीन मिनेटपछि मोहितले कृतिसकै पासमा टोलीका लागि तेस्रो गोल थपे । पछि परेसँगै अन्तर घटाउने प्रयासमा रहेको खुमलटारले अन्तिम मिनेटमा सान्तोवना गोल फर्कायो । श्यामले  गोल गर्दै अग्रता छोट्याएपनि उनको टोली खुमलटार खेलमा फर्किन असफल रह्यो र अंक एनआरटीलाई सुम्पिन बाध्य बन्यो ।

दशौं चरणको पहिलो खेलमा सुखद नतिजा निकालेको एनआरटीले दोस्रो जित सहिज तालिकामा १० खेलबाट १० अंक नै बनाएको छ । यस अघि एनआरटीले चार बराबरी र चार हारको नतिजा भोगेको छ । उता पराजय व्यहोरेको खुमलटारको समान खेलबाट तीन जित, एक बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ एनआरटीभन्दा एक स्थानमुनि ११ औं स्थानमा छ । 
 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया