logo-img

स्वर्णिमप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने– कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरुले नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए । 

कांग्रेस छाडेर रास्वपाबाट सांसद उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री शर्माले यस्ताे बताएका हुन् ।'कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमासरह नै हो,' महामन्त्री शर्माले भने । महामन्त्री शर्माले आमालाई एक दिन मात्र नभएर सधैँ सम्मान गर्नुपर्ने बताए । 

गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेकाे चर्चा गर्दै महामन्त्री शर्माले भने, 'उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।'

महामन्त्री शर्माले सांसद् नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसद्मा पुर्याएर उनमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए । 

सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसद्मा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाए । भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उनले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया