logo-img

अग्रज नेताको योगदान र विचारलाई पार्टीले सधैं आत्मसात गर्छ : देउवा
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरूको योगदान र विचारलाई पार्टीले सधैं आत्मसात गरेर लैजाने बताएका छन् ।
    
आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती कार्यक्रममा उनले बताएका हुन् । सभापति देउवाले भने, ‘पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ ।’
    
स्व. आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको चर्चा गर्दै सभापति देउवाले किसानका हकहितका लागि लडेका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्ने बताए । 
    
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गरे । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभ हानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने औँल्याए । 
    
त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गङ्गालक्ष्मी अवाल, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य, पार्टीका निर्वाचन क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की लगायतले नेता आचार्यको योगदानलाई पार्टीले कदर गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा कांग्रेस  सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई २५ हजार रुपैयाँ नगदसहित जगन्नाथ आचार्य स्मृति पुरस्कार प्रदान गरे ।  





  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया