महावीर पुनको माग तत्काल सम्बोधन गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गैर-नाफामूलक संस्था बनाइ निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रूपमा विकास गर्ने व्यक्तिको माग सरकारले तत्काल संवादबाट समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले राज्यले सम्मान गर्नुपर्ने व्यक्ति सडकमा उभिनु सुन्दर पक्ष नरहेको बताए । सांसदसमेत रहेका शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल महावीर पुनसँग संवाद गरी माग सम्बोधन गर्न आग्रह गरे । 

महामन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा जोड दिनेकुरा राज्य प्रणाली कस्तो बन्ने भन्नेसँग जोडिएको भन्दै कस्तो प्रकारको समाज बनाएर जाने हो त्यसमा ध्यान दिन जरुरी रहेको बताए ।

‘महावीर पुनको विषयलाई यथाशीघ्र सम्बोधन गर्नुपर्छ । महावीर पुन जत्तिको एउटा आविष्कार केन्द्र खोलेर गैरनाफामूलक संस्था बनाएर निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रूपमा उभिएको व्यक्तित्व सडकमा उभिएको अवस्था सुन्दर देखिएको छैन । त्यसैले यथाशीघ्र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई म सार्वजनिक रूपमा पनि अपिल र आग्रह गर्न चाहन्छु, तत्काल महावीर पुनसँग संवाद गरेर सडकमा नभइ संवादमा ल्याइ उहाँका विषय सम्बोधन गरेर सरकार जानुपर्छ,’ शर्माले भने, ‘सरकारले यस्तो विषयमा गम्भीरता राख्नुपर्छ । किनभने प्रश्न आर्थिक कुराको मात्रै होइन । प्रश्न राज्य प्रणाली कस्तो बन्ने भन्ने हो । हामी कस्तो प्रकारको समाज बनाएर जान्छाैँ भन्नेकुरा हो । नागरिकको विश्वास यो प्रणालीप्रति कसरी बढाउने भन्ने हो । यो प्रणालीप्रति विश्वास बढाउँदा तपाईंहरूले उठाएका प्रश्नको हल गर्न यही प्रणालीको बाटोबाट मात्रै सम्भव छ ।’
 
उनले संघीय शिक्षा ऐन २०८० सालभित्रै ल्याउनेगरी काम गर्न सरकारसँग आग्रहसमेत गरे ।   





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार ९:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया