संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो ।
ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौं महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले आज स्थलगत अवलोकनसमेत गरेको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाडौं महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागिएको जानकारी दिए । काठमाडौं महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषद्को टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरी सिसी क्यामरा आवश्यक क्षेत्र पहिचान गरेको उनले बताए ।
नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सिसी क्यामरा जडान गर्न लागिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे स्थलगत अवलोकन भएको बताए । ठमेलभित्रका सडकमा एक सयभन्दा बढी सिसी क्यामरा जडान गरिने उनको भनाइ छ ।
काठमाडौंभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालू आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई ६ करोड आर्थिक सहयोग गरेको छ ।
उक्त रकमबाट सिसी क्यामरा खरिद गरी काठमाडौंभित्रका सिसी क्यामरा आवश्यक पर्ने स्थानमा जडान गरिनेछ । काठमाडौं महानगरपालिका वडा नं १६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झण्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।