सरकार र नीति क्षेत्रको काम स्पष्टरूपमा बाँडफाँट गर्नुपर्छ : विश्वप्रकाश शर्मा

सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए ।   

भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभइ फायर खोल्नुपर्ने उनको भनाइ थियो । ‘सरकार र नीति क्षेत्रको काम स्पष्टरूपमा बाँडफाँट गरेर काम गर्नुपर्छ’, उनले भने, ‘ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ ।’ 

सांसद शर्माले नेपालको प्रशासनिक काम अझैं झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभइ विज्ञहरूको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिए ।

पुल बनाउने र सडक बनाउने विषयमा कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उनले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै उनले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वातावरणको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।    

सांसद शर्माले सत्ता पक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई  समृद्ध बनाएर एकताका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।  



सांसद राजेन्द्र बजगाईंले मुलुकमा आर्थिक विकास गर्न सकिने क्षेत्रहरू अध्ययन गर्नुपर्नेमा जोड दिए । सांसद प्रेमबहादुर महर्जनले कृषि उत्पादनमा बढी जोड दिनुपर्ने र रैथाने बालीलाई पनि प्राथमिकता दिएर बजारीकरण गर्नुपर्ने बताए । उनले कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ त्यो बारेमा अध्ययन गर्नुपर्ने भनाइ छ ।

सांसद वासुदेव घिमिरेले उत्पादन वृद्धि गर्ने र ऋण कम गर्ने खालका कामहरू गर्नुपर्ने र समग्रमा मुलुकको आर्थिक उत्पादन वृद्धि गर्ने खालका काम गर्नुपर्ने धारणा राखे । सांसद प्रभु साहले पढेलेखेका, युवा सबै विदेश जान चाहिरहेका हुँदा मुठ्ठीभर मानिस खुसी र धेरै नेपालीहरू दुःखी भएको अवस्था सुनाए ।  



सांसद सूर्यप्रसाद ढकालले राष्ट्रिय गौरव र अन्य योजनामा हुने भ्रष्टाचार रोकिनुपर्ने र कलकारखानाको विकास र विस्तार गर्न बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिए । सांसद सम्झना थपलियाले सरकारले दिएको सहुलियत किसानको ऋणमा गैरकिसानले लिएर चलाउने गरेको र वास्तविक किसान मिटरब्याजीको फन्दामा पर्ने गरेको सुनाइन् ।   

सांसद हर्कमाया विश्वकर्माले राज्यले मुलुकको आर्थिक वृद्धि, सुशासन र समृद्धि गर्ने खालको बजेट बनाउनुपर्नेमा जोड दिइन् ।  प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गरेको कर प्रस्तावबाहेक बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी छ ।  

  • प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार १३:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया