logo-img

जनावर प्रेमले जन्माएको ‘क्याट क्याफे’

ललितपुर पुल्चोकस्थित लबिम मलको पल्लो किनारामा रहेको झम्सिलेख सडक हुँदै १५ मिनेट हिडेँपछि पुगिन्छ, धोबिघाट लमोचौर । लमोचौर चोकैनजिक छ, ‘श्याम दाइको हाँसको छोइला’। उक्त ‘श्याम दाइको हाँसको छोइला’ रहेको भवनको तेस्रो तल्लामा छ, क्याट क्याफे ।

जहाँ छिर्न एक दिनअघि नै बुकिङ गर्नुपर्छ । बुकिङको आधारमा मात्र क्याफेभित्र पस्न पाइन्छ । क्याफेभित्र छिर्नासाथ सबैभन्दा पहिला हात स्यानिटाइज गर्नुपर्छ । 
हात स्यानिटाइज गरेपछि मात्र खेल्न पाइन्छ, बिरालोसँग । हामी क्याफेभित्र छिर्दा चारजनाको टोली बिरोलोसँग रमाइरहेका थिए । उनीहरू फोटो र भिडियो खिच्नमा व्यस्त थिए । लाग्थ्यो, उनीहरू एक पलको लागि पनि छुट्टिन चाहँदैनन् । तर, छुट्टिनु त छँदै थियो । किनभने क्याट क्याफेमा बस्नका लागि निश्चित समय तोकिएको हुन्छ । सुरुमा बुकिङ गर्दा एक घण्टा २० मिनेटको समय दिइन्छ । यदि त्यो भन्दा पनि बढी समय बस्न चाहे थप पैसा तिर्नुपर्ने हुन्छ । 

बसेबापतको पैसा लिने मनसाय नभए पनि बाध्यता रहेको बताउँछिन्–क्याट क्याफे सञ्चालिका आकृति श्रेष्ठ । ‘यहाँ बसेबापत पैसा लिन नपरे हुन्थ्यो । समय तोक्न नपरे हुन्थ्यो भन्ने त हामीलाई पनि लाग्छ । तर, के गर्नु बाध्यता यस्तै छ,’ स्पष्ट पार्छिन्, ‘कसैलाई दिनभर बस्न मन लाग्ला । ठाउँ पनि एकदमै साँघुरो छ । बिरालोलाई पनि धेरै मानिससँग बस्दा असहज हुन्छ । उनीहरू पनि खेलेर थाक्छन् । आराम गर्ने समय पनि दिनुपर्छ ।’



मानिसले कुकुर र बिरालोलाई एउटै प्रकारको सम्झिन्छन् । तर, यिनीहरूको बानीव्यवहारमा धेरै फरक हुन्छ । कुकुरलाई आफ्नो  मनोभावना लुकाउन जैविक रूपमै असम्भव झैँ लाग्छ । उनीहरू केही क्षणमै नजिकिने, लुटपुटिने, सुँघ्ने, पुच्छर हल्लाउनेजस्ता क्रियाकलाप गर्छन् । उनीहरू सन्तुष्ट भएको वा खुसी भएको संकेत मिल्छ । उनीहरूसँग जति समय खेले पनि कहिल्यै थाक्दैनन् । 

तर, बिरोलोको आनीबानी पूरै फरक हुन्छ । बिरालाहरू अधिक स्वतन्त्रता चाहन्छन् । बिरालोसँग एक महिनामा पनि सम्बन्ध विकास गर्न गाह्रो हुने श्रेष्ठ बताउँछिन् । उनीसँग माया नभएको भने होइन । तर, उनीहरू व्यक्त कम गर्छन् । 

‘कुकुरसँगको सम्बन्ध एकैछिनमा विकास गर्न सकिन्छ । तर, बिरालोसँग महिनौँ लाग्न सक्छ । उनीहरू सहजै मानिससँग नजिकिँदैनन् । नजिकिए पनि कुकुरले जस्तो माया व्यक्त गर्दैनन्,’ आकृति भन्छिन् । 

बिरालो एकदमै संवेदनशील जनावर हो । तर, मानिससँग घुलमिल नै नहुने भने होइन । मानिसलाई बिरालोको हाउभाउ बुझ्न केही गाह्रो हुन्छ । बिरालो पनि कुकुरजस्तै होस् भन्ने अपेक्षा गरिन्छ । तर, त्यो सम्भव नहुने उनी बताउँछिन् । 



‘यो विषय अनुवंशले त निर्देशित गर्छ नै, तर सामाजिकीकरणको पनि भूमिका रहन्छ । यदि बिरालोको जीवनको प्रारम्भिक कालमा सामाजिकीकरणप्रति उसको सकारात्मक छाप परेको छ भने उसले मानिससँग नजिकिन बढ्ता रुचाउँछ,’उनी भन्छिन्, ‘केही समयपछि बिरालोको हेराइ मित्रवत् लाग्न थाल्ने र विस्तारै आँखा झिमझिम गरेर मानिससँगको प्रेम प्रदर्शन गर्न थाल्छन् ।’ 

मानिस र बिरालोबीचको सम्बन्धमा ठूलो खाडल छ । त्यो खाडल पुर्न नै आकृतिले ‘क्याट क्याफे’को अवधारणा विकास गरेकी हुन् । नेपाली समाजमा कसैकसैले बिरालोलाई अशुभ पनि मान्दै आएका छन् । बिरालोले बाटो काट्यो भने अशुभ हुन्छ भन्दै थु–थु गर्दै हिँड्छन् । ‘एउटा बिरालोले बाटो काट्दा गाडी रोकेरै दिन बिग्रिन्छ भनेर थु–थु गर्दै हिँड्छन् । तर, मेरो त यहाँ बिरालोले दिनमा कैयौँ पटक बाटो काट्छन्, खै त मेरो केही नराम्रो भएको छैन,’ उनी सुनाउँछिन्,‘कुनै पनि जनावर शुभ वा अशुभ भन्ने हुँदैन । त्यो हाम्रो सोचाइ मात्र हो । त्यसबाट माथि उठ्नुपर्छ ।’

यस्तो नकारात्मक दृष्टिकोणलाई चिर्न नै ‘क्याट क्याफे’ सञ्चालनमा ल्याएको उनी बताउँछिन् । पुरानो बानेश्वर निवासी आकृति सानैदेखि जनावरप्रेमी हुन् । उनको परिवारमा उनीबाहेक कसैलाई पनि बिरालो मन मर्दैन। तर, उनलाई सबै जनावर असाध्यै मन पर्छ । त्यसमा पनि बिरालो उनको सबैभन्दा मनपर्ने जनावर हो । 

बिहे हुनुअघि उनले जबरजस्ती रोइकराई गरेर एउटा बिरालो पालेकी थिइन् । जब उनको विवाह भयो, माइतीमा जस्तै उनको घरमा पनि कसैले बिरालो मन पराउँदैन थिए । श्रीमान् रोहण पाण्डेसँग झगडा नै गरेर उक्त बिरालो घरमै लिएर गइन् । उनले त्यो बिरालोलाई घरमा लुकाएर हुर्काइन् । पछि उक्त बिरालोलाई परिवारमा सबैले मन पराउन थाले । 

उनीहरू १० दिनका लागि थाइल्याण्ड घुम्न गए । थाइल्याण्डमा हुँदा उनले आफ्नो बिरालोलाई धेरै सम्झिन् । त्यहाँ उनले ‘क्याट क्याफे’ शैलीका धेरै रेष्टुराँ भेटिन् । क्याफेमा जाँदा बिरालोसँग बसेर खाँदा एकदमै रमाइलोे लाग्यो । उनी थाइल्याण्ड मात्र होइन, अष्ट्रेलिया गएको बेला पनि क्याट क्याफेको अध्ययन गरिन् । 

त्यसैबेलादेखि ५० लाख लगानीमा क्याट क्याफेको विकास भएको उनी बताउँछिन् । उनका अनुसार क्याफे सञ्चालन भएको दुई महिना पूरा भएको छ । उनले थाइल्याण्ड, अष्ट्रेलियामा बिरालो कस्तो स्वभावको हो भनेर धेरै अध्ययन गरेकी छन् । उनी विगत सम्झिन्छिन्, ‘बिरालोको नेचर नबुझेर एडब्ट गरेर पनि २–४ दिनमै बाहिर छाडिदिने रहेछन् । यदि हामीले क्याट क्याफे खोल्यौँ भने अरूले बिरालोसँग घुलमिल हुने मौका पाउँछन् र बिरालोको आनीबानी बुझे भने कुकुरलाई जस्तै बिरालोलाई पनि माया गर्छन् भनेर पनि क्याफे खोलेका हौँ ।’

अहिलेसम्म व्यवसाय एकदमै राम्रो भइरहेको उनी बताउँछिन् । दिनमा ६०–७० जना आउँछन् । सुरुमा खोल्दा १२० भन्दा बढी मानिस आउँथे । जसले व्यवस्थापनमा एकदमै धौ–धौ परेको थियो । 

‘क्याफे भर्खर खोलेको समयमा त टिकटकले गर्दा एकदमै भाइरल भयो । क्याफेको क्षमताभन्दा पनि बढी आउनुभयो,’ उनी भन्छिन्, ‘जसले गर्दा हामीले सोचेजस्तो सेवा दिन पाएनौँ । अहिले ग्राहकको चाप केही कम भएको छ । यति नै हाम्रो लागि ठिक छ । किनकि यो ठाउँ एकदमै साँघुुरो छ नि त ।’

अहिले क्याफे सानो ठाउँमा सञ्चालनमा ल्याइएकोले पनि धेरै ग्राहक थेग्न गाह्रो भएको उनी बताउँछिन् । क्याट क्याफेको अवधारणा विकसित मुलुकका लागि पुरानै भए पनि नेपालमा यस किसिमको क्याफे पहिलो भएको उनको दाबी छ । 

‘म पहिलादेखि नै रिस्क लिन चाहने व्यक्ति हुँ,’ आकृति बुझाउन खोज्छिन्, ‘त्यसैले पनि एकदमै रिस्क लिएर क्याट क्याफे खोलेको हो ।’ अहिले यहाँ १३ वटा बिराला छन् । यदि केहीगरी क्याफे नचले पनि यति बिरालाको आफैँ रेखदेख गर्न सक्छु भनेर सानो ठाउँमा सुरुवात गरेको उनले बताइन् । 

अब बिस्तारै क्याट क्याफेलाई विस्तार गर्दै लैजाने उनको योजना छ ।‘यति धेरैको माया पाउँछौँ भनेर हामीले सोचेका थिएनौं । यहाँ ठाउँ एकदमै सानो भइरहेको छ । अब विस्तार गर्ने योजना बनाइरहेका छौँ,’ उनले आफ्नो योजना सुनाइन् । 

धेरैले राम्रो प्रतिक्रिया दिएका कारण पनि क्याफेलाई विस्तार गर्ने योजना बनेको हो । क्याफेमा बिरालोको स्वास्थ्यलाई समेत एकदमै ध्यान दिइएको छ । 

‘हामीले दिनहुँ बिरालोको स्वास्थ्य जाँच गराउँछौँ,’ उनले सुनाइन्, ‘कुनै बिरालो बिरामी छ भने त्यसलाई छुट्टै राखेर औषधि उपचार गर्ने काम गरिन्छ ।’ यति मात्र होइन, कपाल झर्छ भनेर दिनहुँ बिहानै कोरिदिने गरिन्छ । जसले गर्दा बिरालोसँग खेलेर खाँदा त्यति धेरै रौँ झर्दैन । ‘यहाँ आउने भनेको क्याट लभर मात्र हो । अलिअलि रौँ झरेपनि एड्जस्ट गर्नुहुन्छ,’ उनले क्याफे चलाउँदाको अनुभव सुनाइन् । आकृतका अनुसार बिरालो आफैँमा सुग्घरी जनावर हो । खाना बनाउँदा सरसफाइमा समेत ध्यान दिइएको छ । खाना बनाउने ठाउँसम्म बिरालो पुग्न सक्दैनन् । 

यस क्याफेमा आउनेले भने केही नियमको पालना गर्नुपर्ने हुन्छ । उनीहरूले बिरालोलाई जिस्काएर पुच्छर तान्ने, कान तान्ने, जबरजस्ती बोक्ने, दुःख दिनेलगायत काम गर्न पाउने छैनन् । बिरालोले टोके वा कोतारे त्यसको जिम्मेवारी स्वयं व्यक्ति नै हुनुपर्छ । ‘हामीलाई रमाइलो लाग्यो भन्दैमा उनीहरूको इच्छाविपरीत जबरजस्ती गर्न मिल्दैन,’ उनले नियमको कुरा गरिन्, ‘हामीले यस विषयमा नियम लेखेर नै राखेका छौँ । सबैले पालना गर्नुपर्छ ।’ 

क्याफेमा पर्जन जातका बिरालो छन् । जुन भारतबाट मगाइएको हो । यो जातको बिरालो धेरै मिलनसार हुन्छन् । तर, मानिसले किन गाउँघरमा पालिने बिरालो नपालेको भन्दै प्रश्न पनि गर्छन् । जातअनुसार उनीहरूको आनीबानी फरक हुन्छ । ‘गाउँघरमा पाइने बिरालो यिनीहरू जस्तो एउटा कोठामा बस्न सक्दैनन् । उनीहरु डुलुवा स्वभावका हुन्छन्,’ उनले तर्क दिइन्,‘यिनीहरू त १८ घण्टासम्म पनि सुतिरहन्छन् । रिसाहा वा झगडालु होइन् ज्ञानी हुन्छन् । त्यसकारण पनि यो जातको बिरालो रोजेका हौँ ।’ 

उनीहरूसँगै बसेर खाने कुरा खाँदा पनि कुनै व्यवधान गर्दैैनन् । त्यसकारण उनीहरूसँगै बसेर घण्टौँ रमाइलो गर्न सकिन्छ । 

यस क्याफेमा आउने एकजनाले आठ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त रकम तिरेबापत आठ सय रुपैयाँसम्मको खाना खान सकिन्छ । तर, त्योभन्दा कमको खाएमा पैसा फिर्ता भने हुँदैन । समूह मिलाएर गएको छ भने एकजनाले ६ सयसम्म तिर्नुपर्ने हुन्छ, जसबापत सोही रकमबराबरको खानेकुरा पाइने व्यवस्था क्याफेले गरेको छ ।

बिरालोप्रेमीलाई स्वागत छ–क्याट क्याफेमा ।

  • प्रकाशित मिति : वैशाख ३०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया