logo-img

साहित्यमा जति तागत छ, त्यति राजनीतिमा छैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यकार हुन परिस्थिति मात्रै नभई, मनस्थिति पनि चाहिने बताएका छन् । ललितपुरमा साहित्यकार वसन्तश्रीको ११औँ कृति हिमाल खण्डकाव्यको आज विमोचन गर्दै उनले लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ, राजनीतिबाट त्यति सन्तुष्टि प्राप्त हुन नसक्ने बताए । 

‘साहित्यकार हुन परिस्थिति मात्रै होइन, मनस्थिति पनि चाहिन्छ । साहित्यमा जति तागत छ, त्यति राजनीतिमा छैन,’ महामन्त्री शर्माले भने, ‘लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ । लेखिएका कृतिहरुले तत्काल मात्रै होइन, चीरकाल पर्यान्तसम्म प्रभाव पर्छ । लेखकको शक्ति चीरकालसम्म प्रभाव पार्छ ।’ 

उनले सहर बन्दै गएको, भवन ठडिँदै गएको, तर भावना मर्दै गएको अवस्थामा कविताले भावनात्मक सम्बन्धलाई जोडेको तर्क गरे । सिर्जनशीलताले नेपाली साहित्यमा सकारात्मक प्रभाव छोड्ने बताउँदै उनले कर्णाली अबको दशकमा समृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गरे । साहित्यको माध्यमबाट नेपालीपनको भावलाई सौन्दर्यीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । 

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै साहित्यकार प्रा.डा. मोहनप्रसाद तिमल्सिनाले कविता भनेको लेखकले भन्दा पाठकले बुझ्ने बताए । ‘कविता भनेको लेखकले भन्दा पाठकले बुझ्छ । यो खण्डकाव्य चलचित्रात्मक शैलीमा लेखिएको छ,’ उनले भने, ‘जीवन र जगतसँग सापेक्ष सम्बन्ध राख्ने सन्देशमूलक छ । यो काव्य मानिसलाई स्वाभिमानी बनाउने सन्देश दिने खालको छ ।’

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै खण्डकाव्यमा पिएचडी गरेका प्रा.डा. नारायण गर्तौलाले लेखक नै खण्डकाव्यको पात्रमा व्यक्त भएको हो कि भन्ने भान हुने बताए । ‘कर्णालीको वेदना हिमाल खण्डकाव्यमा व्यक्त भएको छ । खण्डकाव्य भनेको जीवनको एउटा क्षणलाई व्यक्त गर्ने काव्य हो । खण्ड काव्यमा हिमाल र यार्साको यौन, शिक्षा, स्वास्थ र प्रेमलाई व्यक्त गरिएको छ,’ उनले भने । 

हुम्लाको सिमकोटमा जन्मिएका वसन्तश्री मानसरोवर बहुमुखी क्याम्पस सिमकोटका पूर्वक्याम्पस प्रमुख हुन् । उनले कर्णालीबाट काठमाडौं आएर भोग्नुपर्ने पीडा र संघर्षमा आधारित रहेर खण्डकाव्यमा तयार पारेका छन् । खण्डकाव्यमा १० खण्ड रहेका छन् ।    



लेखक वसन्तश्री (वसन्त रोकायां)ले  हिमाल पुरुषप्रधान खण्डकाव्य भएको बताए । समाजमा भएका गतिविधिलाई साहित्यमार्फत व्यक्त गर्नुपर्ने र त्यसलाई राजनीतिमार्फत बदल्नुपर्ने उनले बताए ।
 



  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार २२:१०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया