logo-img

रजनी रङ : जसले सीपलाई जीवन सौन्दर्य बनाइन्

‘हातमा सीप भए भोकै मर्नुपर्दैन’ कीर्तिपुर–१ अमृतनगरकी रजनी राई चित्रकारको मानसपटलमा अझै पनि ताजै छ, यो भनाइ । १०–१२ वर्षको हुँदा उनलाई आमाले सम्झाएकी थिइन् रे, सीपको महत्व । आमाले भनेको यही भनाइलाई शीरोपर गर्दै अघि बढिन् र त अहिले उनलाई खान–लाउनको कुनै दुःख छैन । जहाँ र जस्तो परिस्थितिमा पनि आफू बाँच्न सक्ने आत्मविश्वास छ, उनमा । 

धनकुटाको सहिदभूमिजस्तो विकट गाउँपालिकामा जन्मिएकी रजनीका हातमा कैयौँ सीप छन् । बाँसबाट बन्ने सामग्रीदेखि काँस, बाबियो, छुवाली, थाकलबाट बन्ने सामग्री, टेडिबियर, सिलाइकर्टा, उनीको मोजा/पन्जा, ढाकासम्म बुन्ने कला छ, उनीसँग । उनको दिनचर्या नै हो, हस्तकलाका सामान बनाउने र अरूलाई पनि सिकाउने । 

‘आफू मात्र बाँच्ने कुरा सोच्नुहुँदैन, कहिले पनि ‘मै खाऊँ, मै लाऊँ’ भन्ने सोच आएन । त्यसैले पनि मैले धेरै सीप सिकेको छु,’ उनी जीवनको अर्थ सम्झाउँछिन्, ‘मैले सिकेको सीप एकैपटक धेरैलाई सिकाउन सक्छु, जसबाट उनीहरूले आफ्नै देशमा रोजगारी पाउँछन् । जीविकोपार्जन गर्न सक्छन् ।’ उनले हालसम्म झण्डै २५ हजार व्यक्तिलाई सीप सिकाइसकेको बताइन् । 



उनले आफैँले पनि एकैपटक सबै सीप जानेकी भने होइनन् । धनकुटामा हुँदा महिला प्रशिक्षण केन्द्रबाट तीनमहिने तालिम लिएर बाँसको सीप मात्र सिकेकी थिइन् । अरू सबै सीप काठमाडौंमै सिकेकी हुन् ।  

बाँसबाट बन्ने कतिपय सामग्री बनाउन उनले तालिम लिनुअघि नै जानेकी थिइन् । उनले आठ वर्षको हुँदादेखि स–साना डोको, डालो, मान्द्रोलगायत सामग्री बनाउँथिन् । पछि तीन महिने तालिम लिएपछि सीप झनै निखारिएर आयो ।  उनलाई अझै पनि याद छ, उनी आठ वर्षको हुँदा सुरुमा बाँसको चोयाबाट सानो मान्द्रो बनाएको । गाउँमा हजुरबा, बा–आमाहरूले बनाएको देखेर उनले यो सीप सिकेकी हुन् । 



‘पहिला–पहिला गाउँमा डोको, डालो, नाङ्लो, गाउँभरिका मानिसले बुन्थे,’ रजनी ती दिन सम्झिन्छिन्, ‘मैले पनि उहाँहरूबाटै सीप सिकेको हो । उहाँहरू ठुल्ठूलो बनाउनु हुन्थ्यो, म भने सानो–सानो बनाउँथेँ । बनाइसकेपछि मैले बनाएको मिल्यो कि मिलेन भन्दै सोध्थेँ । सबैले राम्रो बनाइस् भन्नुहुन्थ्यो ।’ काँचो उमेर र कलिलो हात भए पनि बाँसबाट बन्ने सामग्री बनाउन एकदमै रमाइलो लाग्थ्यो, उनलाई ।  

गाउँका अरू बच्चाहरू खेल्नलाई कहाँ–कहाँ पुग्थे । तर, उनी चोया लिएर हजुरबुबा, हजुर आमासँग डोको, नाङ्लो बुन्न बस्थिन् । स–साना सामग्री बनाउँदा एकदमै राम्रो देखिने । उनले बनाएको सामग्री सबैले मन पनि पराउने । 



‘हजुरबा, बाहरूले बनाएको सामग्री घरमा प्रयोग गर्नुहुन्थ्यो । तर, मैले बनाएको सामग्री घरमा सजाउन मात्र मिल्थ्यो । म मान्छे पनि सानो भएका कारण सानै बनाउँथेँ । तर, सानो अझ राम्रो देखिँदो रहेछ । सबैले मन पराइदिनुहुन्थ्यो,’ उत्साहित हुँदै उनी विगत सम्झिन्छिन् ।

त्यसपछि हस्तकलाको सामग्री बनाउन उनी अझ उत्साहित भइन् । उनी आफैँले बाँस काटेर चोया बनाएर बाँसबाट उपहार सामग्री बनाउन थालिन् । सानै उमेरमा बाँस काट्दा लागेका खत अझै मेटिएको छैन । चोया काट्दा लागेको चोट देखाउँदै उनले सुनाइन्,‘त्यतिबेला काटेको घाउको डाम अझै छ । चोटपटक लाग्दा पनि आफूले जानेको सीपबाट कहिल्यै विश्राम लिइनँ ।’

यसैले त रजनी उद्यमी र प्रशिक्षकका रुपमा अहिले यो ठाउँमा छिन् ।

सानामा दुःख गरेर बनाएका सामग्री उनी आफैँ बिक्री गर्थिन् । धनकुटामा बिहीबारे हटिया लाग्थ्यो । आफूले बनाएका सामग्रीमा रातो, हरियो, नीलो रङ भरेर बोक्न सकी–नसकी हटिया लैजान्थिन् । ती सामग्री बिक्रीबाट आएको पैसाले उनी नुन, तेल, मट्टीतेल किनेर घर फर्किन्थिन् । 

ती दिनको पीडालाई उनले याद गरिन्, ‘बिहान तीन बजे नै खाली खुट्टा सामान बोकेर बुबा, काकाहरूसँग बजार जान्थेँ । सामान एक–दुई रुपैयाँमा बिक्री हुन्थ्यो । सबै सामग्री बिक्री गर्दा एक–डेढ सय रुपैयाँ हुन्थ्यो । मेरो खुसीको सीमा नै हुँदैन थियो । ऊ बेला त एक–डेढ सय रुपैयाँ भनेको धेरै ठूलो पैसा पो थियो हो ।’ 

पैसा आउन थालेपछि पढाइतिरभन्दा पनि रजनीले यही उत्पादनमूलक काममा ध्यान दिन थालिन् । उनी रातको १२ बजेसम्म पनि चोयाबाट बन्ने सामग्री बुनेर बस्थिन् । जसले गर्दा उनी एसएलसीमा फेल भइन् । र, पढाइलाई त्यतिमै बिट मारिन् । पढाइसँगको नाता टुट्यो, उद्यम उनको साथी बन्यो । बाँसबाट नयाँ–नयाँ डिजाइनबाट उपहार सामग्री बनाएर काठमाडौं ल्याएर पसल–पसलमा बिक्री गर्न थालिन् । 

यही क्रममा २०४३ मा कीर्तिपुर अमृतनगरमा ‘रजनी हस्तकला तथा तालिम केन्द्र’ सञ्चालनमा ल्याइन् । ऊबेला ४०–५० हजार लगानीबाट व्यवासाय सुरु गरेको उनी बताउँछिन् । यो व्यवसायमा उनी एक्लै छिन् । उनलाई परिवारबाट कसैका साथ, सहयोग छैन । ‘छोरा–छोरी पढेलेखेका छन् । अरू ठाउँमा काम गर्छन्,’ उनी अलिक निरास सुनिइन्, ‘यो हस्तकलाबारे कसैले बुझ्दैनन् । सबैको इच्छा पनि एउटै हुँदैन । उनीहरूलाई इच्छा नभएको कुरामा जबरजस्ती गर्न पनि त भएन ।’ छोरा–छोरी मात्र होइन, श्रीमान्को पनि उनलाई साथ छैन । श्रीमानले यो काम नगर्न पनि नभन्ने र सहयोग पनि नगर्ने गरेको उनको दुखेसो छ । तर, माइतीखलकका सबैजना हस्तकलामै आबद्ध छन् । 

रजनीलाई यो पेसाबाट कहिल्यै टाढा जान मन लागेन । ‘बच्चैदेखि नाङ्लो, डालो, डोको बुनेर हुर्र्कियौँ । अहिले पनि यही पेसाकै माया लाग्छ,’ रजनीको बुझाइ यस्तै छ । उनले ढाका, उन, सिलाइकटाइलाई छाडेर बाँस, छुवाली, बाबियोलगायतबाट बन्ने सामग्री मात्र बिक्री गर्छिन् । ‘सीप धेरै सिकेको छु,’ रजनी भन्छिन्, ‘सबैतिर हात हाल्दा न यताको न उताको भइन्छ । त्यसैले मैले गुडिया बनाउने, सिलाइकटाइको तालिम मात्र दिने गर्छु । बाँस, काँस, कुस, बाबियो, छुवालीबाट बन्ने सामग्री अहिले पनि म आफैँ बुन्छु र बिक्री गर्छु ।’

उनले बाँस, थाकल, काँसलगायतबाट कलमदानी, चकटी, टेबुल म्याट, ढक्की, पेनहोल्डर, गमला, हटकेस, ज्वेलरी, डस्टबिन, ट्रेलगायत सामग्री बनाउँछिन् । पसलमा बस्दाबस्दै पनि उनी सामग्री बुनिरहेकी हुन्छिन् । विभिन्न ठाउँबाट माग आउने हुुनाले अहिले उनलाई भ्याइनभ्याइ छ । पोखरा, झापा, बुटवल, दार्जिलिङलगायतबाट पनि माग आउने गरेको उनको भनाइ छ । 

तर, अरुलाई जस्तै कोरोनाको कहरले उनको व्यवसायलाई पनि प्रभावित गर्यो ।  ‘कोरोनाअघि त नेपाली तथा विदेशी ग्राहकको लर्को नै लाग्थ्यो, कोरोनाको समयमा त व्यवसाय ठप्पै भयो,’ रजनीले सुनाइन्,‘अहिले फेरि व्यापार विस्तारै बढिरहेको छ ।’ 

रजनीले बताएअनुसार, यो व्यवसायबाट वार्षिक ३५ लाख रुपैयाँसम्मको कारोबार हुन्छ । उनको पसलमा एकसयदेखि दुई हजार रुपैयाँसम्मका सामान पाइन्छन् । 

तर, अझै पनि कतिपयले आफ्नो देशमा उत्पादन भएको सामग्रीलाई प्राथमिकता नदिएको उनी गुनासो गर्छिन् । ‘आफ्नो देशमा भएको सामग्रीलाई प्रयोग गर्नुपर्छ,’ उनको सुझाव छ, ‘हामी चीन, भारतबाट सामान ल्याएर प्रयोग गरिरहेका छौँ । तर, स्वदेशमै उत्पादन भएको सामग्री भने प्रयोग नै गर्दैनौँ । प्लास्टिकका सामान हाम्रो रोजाइ बन्न पुगेको छ ।’ रजनीको प्रश्न छ– प्लास्टिकका सामग्री वातावारणका लागि हानिकारक छैन र ? 

‘कतिपय व्यापारी नेपाली हस्तकलाको सामानकै ‘कपी’ गरेर विदेशबाट प्लास्टिक सामान आयात गरेका छन्, हाम्रो बजारमा प्लास्टिकका चिल्ला सामान बढी प्रयोग हुन थालेका छन्,’ रजनीको बुझाइ छ, ‘यस्ता सामानलाई निरुत्साहित गरी मौलिक कलालाई प्रोत्साहन गर्नुपर्छ, नत्र त नेपाली कला लोप हुँदै जान्छ ।’ 

नेपाली हस्तकलाको विकासका लागि अध्ययन÷अनुसन्धान बढाएर कलाको संरक्षण गर्न जरुरी रहेको रजनीले बुझेकी छिन् । बजारमा यसको संस्थागत रूपमा खोजी गर्नुपर्छ । कतिपय त्यस्ता कला छन्, जुन बाहिर आउन सकेका छैनन्, त्यसलाई खोजेर प्रवद्र्धन गर्नुपर्ने उनको ठम्याइ छ । 

विश्वव्यापी सञ्जाल निर्माण गर्न सके, नेपाली मौलिक हातेकलाले बजार पनि पाउने र प्रवद्र्धन हुँदा आयआर्जनका साथै मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने उनको विश्वास छ । किनकि उनी हस्तकला प्रदर्शनको सिलसिलामा भारत, चीन, हङकङ, बंगलादेशलगायत देशमा गएकी छन् । त्यहाँ बनाइने सामग्री र नेपालमा बनाइने सामग्रीमा धेरै भिन्नता छ । विदेशीले नेपाली उत्पादन धेरै मन पराउने गर्छन् । ‘विदेशी सामान सजाउनुको सट्टा संघसंस्था वा सरकारी अफिसमा नेपाली हस्तकलाकै सामान प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने आजको आवश्यकता हो,’ उनको सुझाव छ, ‘हाम्रो देशमा पाइने सामग्री गुणस्तरीय र वातावरणमैत्री पनि छ । अब आफ्नै देशमा उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्छ ।’

धन कमाउन दैनिक हजारौँको संख्यामा नेपाली परदेश गइरहेका छन् । सहरका गल्ली–गल्लीमा रोजगारी खोज्दै भौतारिनेको संख्या पनि बढ्दो छ । तर, रजनीको आफ्नै सूत्र छ, ‘हस्तकलामा लाग्ने हो भने नेपालमा पैसा–पैसा छ ।’ 

भन्छन् नि–नेपालमा पैसा हावामा उडिरहेको छ, त्यसलाई देख्न र समात्न मात्र जान्नुपर्छ ।

रजनीको संकेत सायद यतैतिर थियो । 

  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया