logo-img

परम्परागत बजेट ल्याउन लागेको भन्दै प्रतिपक्षी सांसदहरुको आपत्ति

प्रतिपक्षी सांसदहरुले परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रका चुनौतीको समाधान गर्न नसकिने बताएका छन् । शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा नेकपा एमाले र रास्वपाका सांसदहरुले परम्परागत बजेट नभई कार्यान्वयनमा आउनसक्ने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेका हुन् । 

उनीहरुले देशमा बिचौलिया संस्थागत भएको र यसलाई रोक्न सरकारको योजना के छ ? भन्दै उनीहरुले प्रश्न गरे । समितिको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी रूपमा काम हुन लागेको भन्दै उनले आपत्ति जनाए । न्युनतम मापदण्ड पनि नपुगेकाहरुलाई ल्याएर केही मानिस बसेर लाइसेन्स वितरण गर्ने तयारी भइरहेको भन्दैबारे उनले अर्थमन्त्री महतसँग जवाफ माग गरे । स्थानीय तहलाई सम्मानीरण कटौती गरिएकोमा अहिले स्थानीय तहहरु बिचल्ली भएको भन्दै त्यसको बारेमा सरकारले के सोच बनाएको छ ? भन्दै उनले प्रश्न गरे । 

उनले भने, ‘विद्यार्थीहरु विदेश पठाएर उनीहरुले पठाएको रेमिट्यान्सबाट गर्व गर्ने ठाउँमा हामी छौँ कि छैनौँ, हामीले देशलाई कहाँ पुर्याउँदै छौँ ? राजस्व परिचालन ५० वर्ष, ५२ वर्षको इतिहासकै नराम्रो छ । यसलाई सुधार्न कसरी जाने भन्ने आधार सरकारल दिन सकेको छैन ।’ 

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले देशमा बिचौलिया संस्थागत भएको बताए । अहिले आएर पनि बाटो र पानीको लोभ मात्रै देखाउने गरिएको बताउँदै उनले हाइवेको भौतिक पूवार्धाधर झनै नराम्रो बनिरहेको र यस बारेमा सरकारले कस्तो योजना बनाइरहेको छ भन्दै प्रश्न गरे । सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन इन्जिनियरिङ सुरु गर्नुपर्नेमा उनको जोड थियो । 

‘यो ३० वर्षमा गणतन्त्र लोकत​न्त्र स्थापित भयो भएन थाहा छैन, तर बिचौलिया संस्थागत भएको छ,’ उनले भने, ‘आज पनि हामी बाटो र पानी कहिले आउँछ भनेर बसेका छौँ । अहिले भएका भौतिक हाइवेको अवस्था पहिला भन्दा खस्किएको छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले राजस्व चुहावट भएको ठाउँमा गम्भीर बन्नुपर्ने बताइन् । राजस्वमा बिचौलियाको खेल रोक्न डिजिटल प्रणालीमा जानुपर्ने बताउँदै उनले परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रको समस्या समाधान नहुने बताइन् । 



‘चुहावट भएको ठाउँमा नीति, ऐन, कानुनमा गम्भीर हुनुपर्छ । बेथिति भएको अवस्थामा हामीले अवस्था बदल्नेगरी काम गर्न जरुरी छ । सबै चिन्तित भएर जानुपर्छ,’ उनले भनिन्, ‘१६ मा ४ आना पनि राजस्व सरकारसमक्ष आइपुग्दैन, त्यहाँ बिचौलियाको खेल छ, त्यसैले डिजिटल गर्नुपर्छ । हिजोकै परम्परागत बजेट अनुसार ल्याएर यो समस्या समाधान हुँदैन ।’

समितिको बैठकमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले उत्पादनमा वृद्धि गरी स्वदेशमै आत्मनिर्भर हुनुपर्ने नीति ल्याउनुपर्ने बताए । उत्पादन बढाउन सक्ने उपायको बारेमा सोच्न जरुरी रहेको उनको भनाइ छ । ‘खर्बौंको उपभोग्य वस्तु हामी आयात गर्छौं, हरेक वर्ष बजेटमा यो खालको यहाँ उत्पादन हुन सिँचाई पुगिरहेको छ, खेतीयोग्य ठाउँ छ, तर हामीले उत्पादन बढाउने हिसाबले अघि बढेको पाएनौँ, पोलिसी नै निर्माण गरेर जाने हो कि । उत्पादनलाई फोकस गर्नेगरी पोलिसीमा कमी भए कसरी हटाउने कसरी थप्ने भन्ने बारेमा सोच्नुपर्छ ।’



सांसद थापाले आवश्यक नीति निर्माण गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए । 

  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया