logo-img

पुलिसले थ्री स्टारलाई, खुमलटारले सातदोबाटोलाई हराए

अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारलाई पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध अंक खोसेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार सम्पन्न खेलको २८औं मिनेटमा जो एइडोको बललाई सदुपयोग गर्दै हिजाजीले गोल गर्दा पुलिसले थ्री स्टारविरुद्ध रोमाञ्चक जित निकालेको हो । जितसँगै पुलिस २० खेलमा २५ अंक जोड्दै आठौँ स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौँ स्थानमा यथावत् छ । 

यससँगै प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको थ्री स्टार पछिल्ला नौ खेलमा जितविहीन रहेको छ । यससँगै पुलिसले थ्री स्टारसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा थ्री स्टार १–० ले विजयी भएको थियो । लिगअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा सातदोबाटोमाथि खुमलटारको जित निकाल्दा विदेशी खेलाडी मोसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । 

एफसी खुमलटारले सातदोबाटो युथ क्लबमाथि १–० जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा मंगलबार सम्पन्न खेलको ३७औं मिनेटमा ओलोमोउले गोल गरेका थिए । राजीव लोप्चनको क्रसलाई बललाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवैै टोलीले गोलका लागि निकै प्रयास गरे पनि जित्न असफल भएको थियो ।

जितसँगै २० खेलमा २१ अंक जोडेको खुमलटार १४औं स्थानमा छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ । खुमलटारले पछिल्लो पटक १५औं चरणमा जावलाखेल युथ क्लबलाई ४–२ ले पराजित गरेको थियो । 

त्यसयताका चार खेलमा खुमलटारले तीन हार र एक बराबरीको नतिजा निकालेको छ । खुमलटारले सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो ।





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया