logo-img

कांग्रेस आलोचनाबाट डराउँदैन, प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताएका हुन् । प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो ।

‘प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ’, सभापति देउवाले भने । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।

देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने पनि बताएका छन् । उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क छ । सभापति देउवाले प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको बताउनु भयो । 
उनले भने,  ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले । डराउँदैन पनि । कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले ।’

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस एक सिक्काका दुई पाटा भएको बताए । ‘प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व रहँदैन, लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्छ’, उनले भने । पत्रकार महासङ्घको निर्वाचन र नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीका नेताको आड लाग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको विश्वकर्माले बताए । प्रेस युनियनमा व्यावसायिक क्षेत्रलाई प्राथमिकता दिन उनले सुझाव दिए । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसभित्र उत्साह थप्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया