logo-img

ऐतिहासिक काष्ठकला ब्युताउँदै गणेशमान
‘नयाँ पुस्ता कलाकारभन्दा कामदारका रूपमा बजारमा आउँदा दुःख लाग्छ’

भक्तपुर सूर्यविनायक नगरपालिकाका गणेशमान राजचल उमेरले ६ दशक पार भइसके । तैपनि पुख्र्याैली काष्ठकला पेसा छाड्न सकेका छैनन् ।  बुबाले काठमा चलाएको ज्यावल र खोपेका बुट्टा तथा आकृति हेरेर नै गणेशमानले काष्ठकलाबारे धेरैथोक बुझ्ने मौका पाए । उनले पनि काठकला सिके । बाबुको जस्तै काठैबाट विभिन्न आकृति बनाउने सिको गर्दागर्दै काष्ठकलामा पोख्त भएको उनलाई पत्तो नै भएन । 

गणेशमानले जसरी नै बुबाले पनि बा–बाजेबाट नै काष्ठकला सिकेका हुन् । उनी मात्र होइन, अहिले मास्टर्स सकेका उनका छोरा पनि नेपाली मौलिक घरको झ्याल ढोका, तोरण र टुँडाल (सामान्यतः मन्दिरमा गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन प्रयोग गरिने बलियो काठ) बनाउन व्यस्त छन् । उनका अनुसार काष्ठकला सिर्जनाको सीप उनीहरूको पुस्तैनी सीप हो । पुस्तान्तरण हुँदै हालसम्म परम्परागत सीपलाई जोगाइराखेको उनले बताए । 

‘काष्ठकला पेसामा हाम्रो प्राण बसेको छ । किनकि यो हाम्रो पुख्र्यौली पेसा हो,’ उनी भन्छन्, ‘सानैदेखि यही सीप जानेको हुनाले हामीलाई यसैमा रमाइलो लाग्छ ।’

धेरै साथीहरूले अरू नै व्यवसाय रोजेका छन् । तर, गणेशमानलाई काष्ठकलाभन्दा बाहिरको व्यवसाय गर्ने सोच नै आएन ।  ‘सानैदेखि यही कामले मन तान्यो । हातमा सीप भएपछि आम्दानी पनि राम्रै भयो’, उनी भन्छन्, ‘साथीहरू कोही–कोही विदेश गए । कसैले व्यापार, व्यवसाय गरे, जागिर खाए । तर, मलाई अरू काममा मन नै गएन ।’



वर्षौंवर्षदेखि परिवारको खर्च काष्ठकलाले नै धानेको छ । ‘म यो कामबाट सन्तुष्ट छु । यो कामले सबैथोक दिएको छ,’ खुसी हुँदै भन्छन्, ‘यसबाट भएको आम्दानीले खान लाउन पुगेकै छ । यो भन्दा बढी अरू के चाहियो र ?’ 

गणेशमानले १७ वर्षको उमेरदेखि काठमा आफ्नो कला कुद्न थालेका हुन् । उनले आफ्नो हजुरबा, बा, काकाहरूबाटै काम सिकेका हुन् । ‘उहाँहरू काम गरिरहनुहुन्थ्यो । हामी उहाँहरूले गरेको काम हेरिरहन्थ्यौँ । र, तालिम नलिई हेरेरै सिक्यौँ,’ उनी विगत सम्झिन्छन् । 



नेपालमा काष्ठकलाको सिर्जना युग हेर्दा लिच्छवी कालदेखि नै बनेका नमुनाहरू अझै पनि छन् । लिच्छवी काल हुँदै मल्ल तथा शाहकालीन समयताका बनेका उपत्यकामा रहेका मठमन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलाको प्रयोग गरिएको छ ।

काठमा कुँदेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । हेर्दा जति सुन्दर देखिन्छ, बनाउन त्यति नै गाह्रो हुन्छ । परम्परागत काष्ठकलाका लागि पुराना धार्मिक ग्रन्थ, दर्शन र धर्मशास्त्रअनुसार देवदेवीका मूर्तिको स्वरूप, आकृति तथा मुहारको भावभंगीसमेत मिलाउनुपर्ने हुन्छ । मौलिकताको ख्याल गर्ने हो भने झ्याल र ढोकाका आकृतिमा पनि सोही नियम लागू हुन्छ । 



‘यो जति पनि बुट्टाहरू देखिन्छ । यो सबै हातले नै खोपेर बनाइन्छ,’ काम गर्दाको दुःख उनी सुनाउँछन्, ‘काम गर्न एकदमै गाह्रो छ । कतिपय ग्रन्थहरू हाम्रो पहुँचमा नहुने हुँदा अनुपम तथा ऐतिहासिक महत्वका आकृतिहरू हेरेर वा सुनेरै नै काठमा कुँद्नुपर्ने बाध्यता अझै छ । काम गाह्रो भएपनि कला बुझ्नेलाई फेरि यतै रमाइलो लाग्छ । यो क्षेत्रमा डुबेपछि बाहिर निस्कन गाह्रै छ ।’

पछिल्लो समय त कतिपय आधुनिक मेसिनहरूबाट बुट्टा भर्न सकिन्छ । जसले गर्दा केही सहज पनि हुन्छ । तर, हातले बनाएजस्तो राम्रो नहुने उनको तर्क छ । ‘हातले नै कुँदेर यसरी सामान बनाउने काम विस्तारै हराउँदै जान थालेको छ’, उनी गुनासो गर्छन् । यस्तै, काष्ठकलामा पनि कलाकार जन्मिने क्रम जारी छ । नयाँ पुस्ता कलाकारभन्दा पनि काठको काम गर्ने कामदारका रूपमा बजारमा आउँदा झन् काष्ठकलाको मर्म नै मर्ने जोखिम बढिरहेको उनको विश्लेषण छ ।

धर्मशास्त्रको मान्यताअनुसार बन्ने काठका मूर्तिहरूमा पनि मुहारदेखि शरीरको तह र आकृतिहरूमा आफ्नै नियम र परिधि हुन्छन् । त्यसकारण पनि उनीहरूले काठ चिर्नेभन्दा अरू मेसिन प्रयोग गर्दैनन् ।

‘काठ चिर्नेभन्दा अरूमा अहिले पनि हामी मेसिन प्रयोग गर्दैनौँ । सबै हातैले बुट्टा खोप्छौँ,’ उनी भन्छन्, ‘जसले गर्दा काष्ठकला निर्माणमा लाग्ने खर्च र मिहिनेत कम्ता छैन । यसबारे अनुमान लगाउन मुस्किल पर्छ ।’ 

यसरी बनाइएको काष्ठकला सुन्दर मात्र होइनन्, टिकाउ पनि उत्तिकै हुने उनी बताउँछन् । विगतमा घर, मठमन्दिर, दरबारमा काष्ठकलाको प्रयोग धेरै हुन्थ्यो । गणेशमान पनि बा, काकाहरूसँगै पाटन दरबार, विश्वनाथ मन्दिर, भक्तपुरको दरबार स्क्वायर, नुवाकोट दरबारको पुनःर्निर्माण गर्न हिँड्थे । उनले काठमाडौं उपत्यकाका मन्दिरहरूमा प्रयोग गरिने झ्याल, ढोका, तोरण, टुँडालमा धेरै बुट्टा कोरेका छन् । 

तर, पहिलाजस्तो अहिले घरका लागि झ्याल ढोकाका लागि काष्ठकलाको माग छैन । समय परिवर्तनसँगै अहिले मानिसको रोजाइ पनि परिवर्तन भएको छ । पछिल्लो समय काष्ठमण्डपमा उपहारका सामग्री, मूर्तीहरूको धेरै माग आउने गरेको उनी बताउँछन् । माग धेरै आउन थालेसँगै ०६२ मा ‘भक्तपुर उड क्राफ्ट’ उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । ऊबेला ६ जना कामदार राखेर पाँच लाख लगानीबाट व्यवसाय सञ्चालन गरेका थिए । अहिले उनको उद्योगमा प्रवेश गर्ने हो भने त्यहाँ कुँदिएका कलात्मक काष्ठ आकृतिले जो–कोहीको मन लोभ्याउँछ । 

जहाँ परिश्रमी हातहरू निरन्तर रुपमा काममा व्यस्त नै देखिन्छन् । उनीहरूको उद्योगबाट काष्ठ कलात्मक पौराणिक, लिच्छवीकालीन, मल्लकालीनलगायतका मूर्तिहरु, मायाको चिनो, घरको गेट, झ्याल ढोका, नाग, गणेश, महादेव, कलश, बुद्धको मूर्ति बनाउँछन् । त्यसमा  बौद्ध धर्मावलम्बीहरूले अष्टमण्डलाको धेरै माग गर्छन्। जसलाई ‘गुड लक’ पनि भनिन्छ।  यस्तै, हिन्दुहरूले गणेश, कुमार, चन्द्र, सूर्य, कलश, नागको धेरै माग गर्छन्। उनीहरूले कुँदेका काष्ठकलाबाट जो–कोही चकित हुन्छन्। त्यसैले त गणेशमान काष्ठकलाबारे राम्रो सीप र अनुभव भएका व्यक्तिको रूपमा चिनिन्छन् । 

गणेशमानले कलात्मक ढंगले कँुदिएको ढोकालाई अहिलेको बजारभाउ ४–५ लाखसम्म पर्छ। त्यसमा पनि मानिसहरूले दिने डिजाइनअनुसार मूल्य पनि फरक–फरक हुन्छ। उनले काष्ठकला उद्योगबाट वार्षिक ४५ लाखसम्मको कारोबार गर्छन्। ‘कहिलेकाहीँ काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ। मिहिनेत पनि धेरै गर्नुपर्छ। काम गर्न सके यस क्षेत्रमा कमाइ पनि राम्रो हुन्छ,’ उनी भन्छन्। 

उनका अनुसार ‘भक्तपुर उड क्राफ्ट’बाट उत्पादन भएका सामान नेपालसँगै विदेश पनि जान्छ। विदेश निर्यात हुने काष्ठकलाको क्षेत्रमा काम गर्न पाउँदा आफू भित्रैदेखि खुसी रहेको उनी बताउँछन्। उनका अनुसार कोरोनाअघिसम्म मलेसिया, फ्रान्स, चीन, बंगलादेश, भारतबाट पनि काष्ठमण्डपको माग आउने गरेको थियो। कोरोनाका कारण ठप्प भएको व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुँदै छ। 

‘कोरोनाअघिसम्म काठको टाई जर्मन, फ्रान्स, बार्सिलोना, स्पेनमा एकदमै धेरै माग आउँथ्यो, तर कोरोनाले अहिले अलि कम भएकोे छ। आशा गरौँ, फेरि विस्तारै पहिलेकै अवस्थामा पुग्छ,’ उनी भन्छन्। 

तर, पछिल्लो समय काठको अभाव हुँदै गएको छ। सबै खालका काठमा कलाकृति कुँद्ने काम हुँदैन । चाहिने काठ पाउन गाह्रो छ । काष्ठकला सुरु गर्दा काठ सहजै पाइन्थ्यो । तर, अहिले मूल्य बढे पनि गुणस्तरीय काठ पाउन छाडेको उनको गुणसो छ। अहिले मौलिकता र गुणस्तर मापनका आधारमा एउटा कला सिर्जना गर्ने गतिलो काठ पाउन काष्ठकलामा काम गर्ने कलाकारलाई कठिन छ । काष्ठकलाका लागि अग्राख (साल), करम, सिसौ, सल्लालगायतका काठ आवश्यक पर्छ। 

पर्यटक लोभ्याउने आयाम काष्ठकला 

नेपाली सभ्यता र संस्कृतिको विकासको इतिहासमा काष्ठकला, खास गरी काष्ठ मूर्तिकलाको स्थान महत्वपूर्ण छ । मठ, मन्दिर, घर, सत्तल, पाटी सबै स्थानमा बनाइएको काष्ठकलाको नमुनाले यसको महत्व झल्काउँछ। शताब्दीयौँदेखि हावा हुरी, घाम पानीजस्ता प्रकोपबाट बचेर रहेको काष्ठकृति अन्य कलात्मक वस्तुको भन्दा छुट्टै महत्व रहेको उनी बताउँछन्। 

उनका अनुसार नेपालमा केही काष्ठकलाको नमुना सम्पदाहरुले नेपालमा मात्र नभई विश्वमा पनि प्रसिद्धि पाएका छन् । उदाहरण दिँदै उनी भन्छन्, ‘प्रसिद्धि पाएका काष्ठकृतिहरू धेरै छन्। त्यसमध्ये एक हो–भक्तपुरको पूजारी मठ। सोह्रौँ शताब्दीको मानिएको यस मठमा दुई फिट व्यासमा करिब सवा फिटको एक आकर्षक मयूर कुँदिएको छ । यस क्षेत्रमा रहेको अन्य काष्ठकलाभन्दा यो अत्यन्तै आकर्षक छ । सयौँ वर्ष खुला वातावरणमा रहेर पनि झ्यालमा रहेको मयूर त्यत्तिकै आकर्षक अवस्थामा नै रहेको छ। यस्ता धेरै विश्वप्रसिद्ध काष्ठकला नेपालमा छन्।’

सरकारले काष्ठकला क्षेत्रलाई संरक्षण गर्न थोरै मात्र नीतिगत सुधार गर्न सकेमा यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उल्लेख्य योगदान गर्न सक्ने उनको भनाइ छ । 

उनी भन्छन्, ‘नेपालमा विदेशीहरू अग्लो भवन हेर्न आउने होइन। उनीहरूकै देशमा कैयौँ अग्ला भवन छन्। यहाँ काष्ठकलाको महत्व बुझ्न आउने हुन्। उनीहरू काष्ठकला हेर्न एकदमै धेरै मन पराउँछन्। त्यसैले सरकारले काष्ठकला उत्थान गर्नुपर्छ। विदेशीहरू आकर्षित गर्न सक्छौैँ। काष्ठकलाबाट हामीले धेरै आम्दानी गर्न सक्छौँ।’ तर, सरकारले अहिलेसम्म हस्तकलालाई बजेट नै नछुट्याएको गुनासो गर्छन्–उनी। ‘काष्ठकलाले पनि अर्थतन्त्रमा धेरै फाइदा पुगेको छ। यस क्षेत्रमा बजेट छुट्याएर प्रवद्र्धन संरक्षण गर्न जरुरी छ,’ उनी भन्छन्।

  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया