मनाङसँग थ्रीस्टार र एनआरटीसँग सातदोबाटो पराजित

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्र्याङ्दी क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ । मनाङले पछिल्ला सात खेलपछि पहिलो जित निकालेको हो । 

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले थ्री स्टारलाई पराजित गर्दै आठौं खेलमा स्पष्ट अंक जोड्न सफल भएको हो । मनाङले पछिल्लोपटक १४औं चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गरेको थियो । 

आइतबार रंगशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मनाङका चेतनकुमार थारुले ३८औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । पहिलो हाफमा अग्रता सुम्पिएको थ्री स्टारले दोस्रो हाफमा खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो । 

यससँगै थ्री स्टारले पछिल्ला चार खेलमा लगातार चौथो हार भोग्न विवश भएको छ । जितसँगै मनाङ २२ खेलबाट २८ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ । लगातार ११ खेलमा जितविहीन थ्री स्टार समान खेलबाट २६ अंकका साथ ११औं स्थानमा झरेको छ ।

लिगअन्तर्गत आइतबार नै च्यासल मैदानमा भएको खेलमा न्युरोडटिम (एनआरटी)ले सातदोबाटो युथ क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । एनआरटीलाई जित दिलाउन निकोलस सङ र सनम लिम्बूले समान एक गोल गरे । 

सातदोबाटोका लागि शिव सुवेदीले एक गोल फर्काएका थिए । खेलको ६३औं मिनेटमा सङको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । सङले कृतिश रत्न छुन्जूले डी बक्सभित्रबाट उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए । ६७ औं मिनेटमा सनमले टोलीको अग्रता दोब्बर बनाए । 



सनमले कृतिशकै पासमा हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् । दोहोरो अग्रतापछि केही रक्षात्मक देखिएको एनआरटी विरुद्ध सातदोबाटो आक्रामक देखियो । ७७औं मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो । 

यस जितसँगै एनआरटीले लिगमा सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो । जितसँगै एनआरटीले २२ खेलमा २९ अंक जोडेको छ । पराजय व्यहोरेको सातदोबाटोको समान खेलबाट २९ अंक नै छ ।



लिगमा सोमबार दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेल हिमालयन शेर्पा र एफसी खुमलटार तथा दोस्रो खेल दशरथ रंगशालामा नै साँझ ६ बजे फ्रेण्ड्स र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
 

  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १८:१८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया