आर्मीलाई हराउँदै जावलाखेल दोस्रो स्थानमा

विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मार ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो । 

बलियो आर्मीविरुद्ध सुखद् नतिजा निकाल्ने क्रममा जावलाखेलका लागि दुवै गोल एनकोटो मासोबीले दोस्रो हाफमा गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेका थिए । 

दोस्रो हाफमा भने जावलाखेलले सुधारिएको प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राख्यो । सो क्रममा जावालखेलले ५६औं मिनेटमा एनकोटोको गोलमार्फत अग्रता निकाल्न सफल भयो । समिराज थोकरको पासमा मासोबीको फितलो प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन नसक्दा गोल भएको थियो । 

त्यसपछि मनोबल बढाउँदै आक्रामक खेललाई निरन्तरता दिएको जावलाखेलले ७९औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । मासेबीले फोफनाको क्रसलाई हेडरमार्फत टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए ।
यसअघि  ६६औं मिनेटमा आर्मीका पदमकुमार तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । 

दुई मिनेटपछि आर्मीले बराबरीको अर्को अवसर गुमायो । दीपक गुरुङको क्रसमा जिलेस्पीजंग कार्की को हेडर पनि बाहिरिन पुग्यो । हिसुब थपलियाको क्रसमा आर्मीका गोलकिपर विकेशले पन्च गर्दा प्राप्त रिबाउण्डलाई फोडे फोफनाले राम्रोसँग प्रहार गर्न सकेनन् ।
 
७४औं मिनेटमा नवयुग श्रेष्ठको शक्तिशाली प्रहार जावलाखेलका गोलकिपर ईश्वर गुरुङले बचाए । बाँकी समयमा आर्मीले थप प्रयास गरेपनि गोल हुन सकेन र आर्मीले अंक सुम्पिन बाध्य बन्यो । जितसँगै जावलाखेलले २३ खेलमा ३७ अकं जोड्न सफल भयो । जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ । 

पराजय व्यहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ पाँचौं स्थानमा छ । यस्तै, जावलाखेलले लिगमा आर्मीविरुद्ध पहिलो भेटमा बेहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा आर्मीले जावलाखेलले ३–१ को सहज जित निकालेको थियो ।



लिगमा बुधबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब तथा दोस्रो खेल थ्री स्टार र संकटा क्लबबीच च्यासल मैदानमा भेट हुनेछ । 



  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १९:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया