logo-img

‘प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विद्येयक प्रमाणीकरण गरिनुलाई स्वाभाविक मान्न सकिन्नँ’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विद्येयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई स्वाभाविक मान्न नसकिने टिप्पणी गरेका छन् ।  

पोखरेलले निष्क्रिय भएको विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणित गरिनु संसदीय सर्वोच्चता र नयाँ जनादेशकै अवमूल्यन भएको टिप्पणी गरेका हुन् ।  

‘प्रमाणीकरण नभइ अस्वीकृत भएको र नयाँ जनादेश प्राप्त संसदले काम थालेको ६ महिना पुगिसकेको अवस्थामा संसदीय प्रकृयामा प्रवेश नै नगराइ पुरानै निष्क्रिय भएको विधेयकलाई व्याकडोरबाट भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणित गर्नु के स्वाभाविक विषय हो र ?’, पोखरेलले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘अनि यस्तो विषयमा प्रश्न उठ्दा जानीजानी के हो असहमति भनेर प्रतिवाद गर्नु संसदीय सर्वोच्चता र नयाँ जनादेशकै अवमूल्यन गर्नु होइन र ? नजानेर/नबुझेर प्रश्न गर्नु स्वाभाविक मान्न सकिन्छ । बुझीबुझी प्रश्न गर्नु, असहमतिलाई उपेक्षा गर्नु वा खिसिट्युरी गर्नु अत्यन्त हानिकारक प्रवृत्ति हो ।’ 

उनले एमालेले ल्याउन खोजेको नागरिकतासम्बन्धी अध्यादेश र अहिलेको स्वीकृत विद्येयकमा धेरै फरक रहेको पनि उल्लेख गरेका छन् । 

‘कतिपयले नेकपा (एमाले) ले ल्याउन खोजेको अध्यादेश र यसमा के फरक छ भनेर भ्रम सिर्जना गर्न खोजेको देखिन्छ । वैवाहिक अंगीकृतका सन्दर्भमा भारत र नेपालको बीचमा कम्तिमा समान व्यवस्था राख्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । अहिलेको प्रावधानले भारतमा विवाह भएको ७ वर्षमा र नेपालमा विवाह लगतैको असमान व्यवस्था राखेको छ,’ महासचिव पोखरेलले लेखेका छन्, ‘संविधानले प्रादेशिक पहिचान खुल्नेगरी नागरिकताको व्यवस्था हुनुपर्ने प्रबन्ध गरेको छ । तर अहिलेको स्वीकृत विधेयकमा त्यो समावेश छैन ।’

उनले अगाडि थपेका छन्, ‘सर्वोच्च अदालतले नेकपा (एमाले) को नेतृत्वको सरकारको समयमा अंगीकृतका सन्तानले बेहोरिरहेको नागरिकता समस्याको समाधान गर्न खोजिएको थियो । अध्यादेशमार्फत उक्त समस्याको समाधान  गर्नखोज्दा प्रकृयामा जोड दिएर अध्यादेश खारेज गरेको थियो । त्यतिबेला नागरिकताको विषय संवेदनशील विषय भएको निष्कर्षसहित संसदीय प्रकृयामा विशेष जोड दिइएको थियो । तर अहिले संसदीय प्रकृयालाई समेत पूर्णतः उपेक्षा गरिएको अवस्था हो ।’ 



राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक बुधबार बिहान प्रमाणीकरण गरेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत रोकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।  

मन्त्रिपरिषद्को आग्रहअनुसार उनले संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । 



संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर, तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।    

  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया