नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन् ।
बिहीबार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताएका हुन् । देउवाले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशका लागि गर्वको कुरा भएको बताए ।
‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । उहाँको थप जीवन उन्नती होस् । यो अत्यन्त महत्वपूर्ण सफलता हो । यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो,’ देउवाले भने ।
सम्मान ग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताए । उनले सरकारले शारीरिक अशक्त भएकाहरूलाई सरकारले कानुनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिबद्धता जनाए ।
‘यही सरकार थियो, मलाई दुवै हात, खुट्टा, आँखा नहुनेलाई कानुन ल्याइएको थियो । त्यहाँ ६ हजारमाथि माथिका हिमाल चढ्न नमिल्ने कानुन थियो । हामीले सबै मिलेर मुद्दा लड्यौँ । हामीले जित्यौँ । कानुन मिलेपछि चढ्न ६ वर्ष लाग्यो । अब अरूलाई अवसर दिनुपर्छ । हामीले कसरी सशक्तरूपमा अघि बढ्नुपर्छ । सरकारलाई पनि सुसूचित बनाउनुपर्छ । त्यस्ता कानुन अब ल्याउनु भएन,’ बुढा मगरले भने ।
पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।