logo-img

नागरिकता विधेयक प्रमाणीकरण गर्नु जनताको अधिकार र संसदमाथिको नांगो प्रहार हो : उपाध्यक्ष नेम्वाङ
फाइल तस्बिर

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन् । उनले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताए । 

उनले भने, ‘संविधानले, कानुनले, हाम्रो स्थापित अभ्यासले, संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भयो । जनताको अधिकारमाथि प्रहार गर्ने काम भयो । जनप्रतिनिधिमूलक संस्थालाई छेउमा पार्ने काम भयो । कुना पार्ने काम भयो । गलत काम भयो ।’ 

उनले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधान, कानुन, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको टिप्पणी गरे । उनले संसदलाई छेउ पार्ने काम गरिएको भन्दै यस्तो गर्नु गलत भएको बताए । उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पेस हुँदासमेत १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गर्दै विधेयक उति बेलै निष्क्रिय भएको बताए । 

निष्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्न नमिल्ने उनको तर्क छ । त्यस्तै नयाँ प्रतिनिधि सभा समेत आइसकेको अवस्थामा संसदबाट सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लङ्घन भएको उनले बताए । 

उनले भने, ‘पुरानो थन्किएको विधेयक जो निष्क्रिय भइसकेको छ । त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणीकरण गरिदेऊ भनेको छ ।  यसरी जनताको अधिकारमाथि, जनताको प्रतिनिधिमूलक संस्था संसदमाथिको नांगो प्रहार हो । यो साह्रै गलत भएको छ ।’

उनले नागरिकता प्रमाणीकरणको विषयलाई लिएर एमाले जनताको जाने पनि बताए । यो विषय संसदमा पनि उठाउने उनले बताए । उनले भने, ‘अहिले उठेका विषयहरूलाई हामी जनताको बिचमा लैजान्छौँ । हामी संसदमा उठाउँछौ । यस्ता कतिपय विषयहरू आवश्यक पर्दा अदालतमा प्रवेश पाएका छन् । सबै ढंगले हामी यी विषयहरूमा सशक्त ढंगले जनताको बिचमा प्रस्तुत हुन्छौँ । सचिवालय बैठक भोलि बस्दै छ । यी सबै सन्दर्भहरूमा हामी एउटा निष्कर्षमा पुग्छौँ ।’



उपाध्यक्ष नेम्वाङले देशमाथि सबैतिरबाट प्रहारहरू भइराखेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनीतिक दलहरूको बिचमा राष्ट्रिय विषयहरूमा एकताको आवश्यकता रहेको बताए ।  



  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया