‘ए’ डिभिजन लिग रोमाञ्चक मोडमा, कुन टिमले जित्ला उपाधि ?
चर्च ब्वाइज युनाइटेड, तस्बिर : एन्फा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा २३ औँ चरणका खेल सकिँदासम्म उपाधि जित्ने र रेलिगेसन जोनमा पर्ने टोलीको टुंगो लागेको छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेल मात्र बाँकी छन् ।    

२३ औँ चरणसम्म लिग सकिए पनि तीन चरणका खेल बाँकी रहँदा कुनै पनि टोलीको उपाधि र रेलिगेसन टार्ने सम्भावना यकिन छैन । बाँकी तीन चरणमा कसले कुन टिमविरुद्ध खेल्ने हो त्यो पनि निश्चित छैन । जसले गर्दा समीकरण प्रतिस्पर्धात्मक बनेको छ । 

यही सिजन बढुवा भएको चर्च ब्वाइज युनाइटेडले स्टार खेलाडीलाई समेट्दै लिग आरम्भव गरेसँगै २३ औँ चरणमा शीर्ष स्थान लिन सफल भएको छ । ४१ अंक बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाइजले ११ खेलमा जित निकाल्दा ८ खेलमा बराबरी र ४ खेल गुमाउन पुगेको छ । 

चर्च ब्वाइजलाई साबिक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अंकले मात्र पछि रहेको मच्छिन्द्रले २३ औँ चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा ९ खेलमा बराबरी र ४ खेलमा नतिजा सुम्पिएको छ । यस्तै दोस्रो स्थानको मच्छिन्द्रभन्दा दुई अंकले पछि तेस्रो स्थानमा रहेको जावलाखेलले भने जारी लिगमा अपेक्षा भन्दा धेरै राम्रो प्रदर्शन गर्नसक्यो । 

बलियो टोलीविरुद्ध सुखद नतिजा निकाल्दा तालिकाको पुछारतिर अड्किएका टोलीसँग जावलाखेलको बिर्सन लायक प्रदर्शन रह्यो । जावालखेलले १० खेलमा जित निकाल्दा ७ खेलमा बराबरी र ६ खेलमा नतिजा गुमाएको छ ।

यस्तै, विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो लेगमा खराब प्रदर्शन गरे पनि अन्त्यतिर लयमा फर्किएको छ । गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो । तर अहिले भने पुलिसलाई रेलिगेसन डर कम भएको छ । ऊ पछिल्लो चार खेलमा स्पष्ट जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । 



पुलिसले २३ खेलबाट १० खेलमा जित निकाल्दा ४ खेलमा बराबरी र ९ खेलबाट अंक गुमाएको छ । यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङले पछिल्लो पाँच खेलमध्ये ३ खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरेको छ । यद्यपि उसले अपेक्षाअनुसार प्रदर्शन भने गर्न सकेको छैन । टोलीको खराब लयकै कारण प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए । नयाँ प्रशिक्षक विसन गुरुङ जोडिएपछि भने टोलीले सुधारिएको प्रदर्शन गरिरहेको छ ।

अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि २३ औँ चरणसम्म आइपुग्दा सन्तुलित खेल भएन । केही अनुभवी खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मी छैटौँ स्थानमा छ छ । आर्मीले २३ खेलबाट ७ जित निकाल्दा १० खेल बराबरी र ६ खेलमा नतिजा विपक्षी टोलीलाई सुम्पिएको छ । 



३० अंक जोडेको आर्मी शीर्ष स्थानको चर्च ब्वाइजभन्दा ११ अंकले पछि छ । आर्मीको उपाधि जित्ने समाप्त भइसकेको छ । अर्को टोली हिमालयन शेर्पाले पहिलो लेगमा राम्रो प्रदर्शन गरेको थियो । बलियो टोलीसँग राम्रो नतिजा निकाले पनि आफूभन्दा तल रहेका टोलीसँग भने ऊ खुलेर खेल्न सकेन । 

हिमालयनले २३ खेल सक्दा ७ खेलमा स्पष्ट अंक बटुल्दा ९ खेलमा बराबरी र ७ खेल गुमाउन पुगेको छ । उता सातदोबाटो एक चरणमा मात्र शीर्षमा टिक्यो । पछिल्लो पाँच खेलमा सातदोबाटोले लगातार चार खेलमा नतिजा गुमाउँदा शीर्ष स्थानको होड कमजोर बन्यो । 

सातदोबाटो २९ अंकका साथ आठौँ स्थानमा छ । उसले लिगमा ८ खेलमा जित, ५ मा बराबरी र १० खेलमा हार बेहोरेको छ । समान २९ अंक रहेको न्युरोड टिम पनि २३ औँ चरणसम्म आइपुग्दा सन्तुलित प्रदर्शन गर्न सकेको छैन ।   

पछिल्लो पाँच खेलमा दुई जित, दुई बराबरी र एक खेल गुमाएको न्यूरोडलाई रेलिगेसन भय बाँकी नै छ । पुछारको खुमलटारले २४ अंक जोडेको छ ।  

यस्तै, अर्को विभागीय टोली एपिएफले सुरुवात राम्रो गरे पनि बीचमा लय गुमायो । उसले पछिल्लो पाँच खेलमध्ये दुईमा जित निकालेको छ । यद्यपि एपिएफलाई रेलिगेसनको डर कायमै छ । एपिएफको खराब लयलाई अनुभवी प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन् । 

थ्री स्टारको साख कमजोर बन्दै गएको छ । पछिल्लो पाँच खेलमध्ये थ्री स्टारले चार खेलमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ । ऊ २७ अंकका साथ तालिकाको ११ औँ स्थानमा छ । 

अर्को टोली संकटा १२औँ स्थानमा छ । ऊ आर्मीभन्दा एक स्थानमाथि मात्र छ । ६ खेलमा मात्र स्पष्ट जित निकालेको संकटाले ९ खेलमा बराबरी खेल्दा ८ खेलमा नतिजा सुम्पिएको छ । पुछारमा रहेका फ्रेण्ड्स र खुमलटार भने रेलिगेसन बच्नका लागि संघर्ष गरिरहनुपर्ने देखिन्छ । 

  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १५:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया