logo-img

सरकार र निजी क्षेत्र दुवै दबाबमा, मुलुकमा वित्तीय संकट आउन सक्ने : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको दाबी गर्दै उनले सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेका कारण मुलुकमा वित्तीय संकट आउन सक्ने परिस्थिति देखिएको बताए । निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राखे पनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको उनको भनाइ छ । 

पूर्वअर्थमन्त्री पाण्डेले यो वर्ष बैंकहरुले ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको बताए । चालू आर्थिक वर्षमा करिब नौ प्रतिशत कर्जा वृद्धि भएको भन्दै उनले अर्को वर्ष योभन्दा बढी हुने अवस्था नभएको दाबी गरे । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर जानुको विकल्प नभएको उनले औँल्याए । 

अर्थतन्त्र बुझेकाहरु एक भए मात्रै देशलाई आर्थिक रुपमा सही ठाउँमा ल्याउन सकिने उल्लेख गर्दै पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘अहिले मुलुकको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा देखेको छु । सरकार र निजी क्षेत्र दुवैमा दबाब छ । त्यस कारणले पनि अगाडि वित्तीय रुपमा संकट आउने हो कि भन्ने लागेको छ ।’

कार्यक्रममा बोल्दै पूर्वगभर्नर डा.विजयनाथ भट्टराईले नेपालको अर्थव्यवस्थामा सरकारी वित्तहरुमा भाँडभैलो अवस्थामा रहेको बताए । डा.गोविन्दबहादुर थापा भएको भए अहिलेका नेतृत्वहरुमा बुद्धि पलाउने अवस्था आउने स्मरण गराउँदै उनले थापा सरकारले बनाउने नीतिहरुको विषयको ज्ञाता भएको दाबी गरे । 

सरकारी वित्त र करका नीतिका विषयमा कलम चलाउदा त्यतिबेला नै लेख रचनाले नीति निर्माताहरुलाई धेरै सहयोग पुगेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार १८:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया