logo-img

नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमति छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन् भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताएका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नागरिकताका विषयमा अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा सबैको सहमतिका आधारमा उक्त व्यवस्था गरिएको समेत उल्लेख गरे । प्रधानमन्त्री दाहालले यस सिद्धान्तमा कसैको विमति नभएको समेत स्पष्ट पारे ।

जन्मका आधारमा नेपालीलाई नागरिकता दिन, आमाको नाममा नागरिकता दिन र गैर-आवासीय नेपालीलाई नागरिकता दिन कानुन आवश्यक भएको उनको भनाइ छ । जन्मसिद्ध नागरिक आमा बाबुका छोराछोरी नागरिकता पाउनुपर्छ भन्नेमा सबै एकै ठाउँमा रहेको प्रधानमन्त्री दाहालले बताए ।

‘हामी विवाह गरी आउने महिलाका हकमा केही प्रक्रिया राख्नुपर्छ भन्नेमै छौँ, विवादै नभएको विषयमा किन विवाद गराउन खोजिएको छ ? नागरिकता नपाउने १२/१५ लाख भइसके, केपी ओली प्रम हुँदा ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रम हुँदा ल्याएको विधेयक एउटै हो, अदालतमा भएको विषयलाई यहाँ किन विवाद गर्ने, अदालतको निर्णय सबैले मान्नुपर्छ,’ उनले भने ।  

साथै प्रधानमन्त्री दाहालले हालैको आफ्नो चार दिने भारत भ्रमणका अवसरमा सात दस्तावेजमा हस्ताक्षर भई आदानप्रदान भएको संसदमा जानकारी गराए । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै नेपाल भारत पारवाहन सन्धिसमेत भएको बताए । 

संशोधित सन्धिमा दूरगामी महत्वका विषय पनि समावेश गरिएको उल्लेख गर्दै उनले नेपालको पारवहनमा भारतको आन्तरिक जलमार्गबाट पारवहन सुविधा सुनिश्चित गरिएको जानकारी गराए । 



‘पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी सम्झौता पत्रमा पनि भ्रमणका बेला हस्ताक्षर भएको छ, विद्युतीय ऊर्जाको विकास र खपत बढाउने, सुदूरपश्चिम क्षेत्रमा विद्युत् पूर्वाधार निर्माण हुँदा भारत हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सहयोग पुग्नेछ, तल्लो अरुण परियोजना विकाससम्बन्धी लगानी बोर्ड र भारतीय कम्पनीबीच सम्झौता भएको छ, अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा यो आयोजना निर्माण हुनेछ,’ उनले भने । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज संस्थानबीच पनि भ्रमणका बेला सहकार्य भएको प्रधानमन्त्री दाहालले भने । भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसहित अन्तरक्रिया सम्पन्न भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।



भारत भ्रमणका बेला इन्दोर र सांस्कृतिक सहर उज्जैनको पनि भ्रमण गरेको सुनाउँदै उनले इन्दोरको फोहर व्यवस्थापन अनुकरणीय भएको भ्रमण टोलीले अनुभूति गरेको बताए । नेपाल–भारतबीच बहुआयामिक र सम्बन्धलाई बलियो बनाउन भ्रमणले सहयोग गरेको र भ्रमणले भविष्यका लागि कोरेको प्रधानमन्त्री प्रचण्डले भने । 

  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया