तनावपूर्ण खेलमा च्याम्पियन चर्च ब्वाइजसँग पराजित खुमलटार युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनमा पर्दा अर्को खेलमा फ्रेन्ड्सले विभागीय टोली एपिएफ क्लबलाई हराउँदै रेलिगेसन संकट टारेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तनावपछि भएको खेलमा चर्च ब्वाइजले खुमलटारलाई २–० गोल अन्तरले हरायो । यस हारसँगै खुमलटारको ‘ए’ डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा भएको हो ।
यही सिजन बढुवा भएपनि खुमलटारले शीर्ष डिभिजन रहने प्रदर्शन गर्न सकेन । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सीमित चर्च ब्वाइजले पहिलो हाफमा गरेको २ गोल नै जितका लागि पर्याप्त भयो ।
चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १–१ गोल गरे । १२ औँ मिनेटमा एरिक विष्टको फ्रिकिक पासमा सुशीलले सुन्दर गोल गरेका थिए । पहिलो हाफकै इन्जुरी समयमा खेल तनावग्रस्त बनेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए ।
आधा घण्टापछि सुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल दोस्रो हाफमा गर्यो । इन्जुरी समयमा बेम्पाले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाएका थिए । यसअघि पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको थियो ।
रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए भने चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड खाँदा चर्च ब्वाइज १० खेलाडीमा सीमित भयो । यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गरेको छ । खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुछारमा रह्यो ।
लिगअन्तर्गत शुक्रबार नै दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले अन्तिम खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ४–० ले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन टोरिक जेब्रिन, विकाश थापा, रफिक अमिनु र अख्रोबेक उक्टामोभले एक/एक गोल गरे ।
यस जितसँगै फ्रेन्ड्सले आउँदो सिजन ‘ए’ डिभिजन लिगमा रहने पक्का गरेको छ । एपिएफको यो हारले भने अब थ्री स्टार र एपिएफमध्ये एक टोली अर्को सिजन ‘बी’ डिभिजनमा घटुवा हुने समीकरण बनेको छ । थ्री स्टारले रेलिगेसन टार्न अन्तिम खेलमा शनिवार जावलाखेल युवा क्लवलाई पराजित गर्नुपर्नेछ ।
यस्तै, शुक्रवारकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले सातदोबाटो युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । च्यासल मैदानमा शुक्रबार पुलिसले सातदोबाटो युथ क्लवलाई १–० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे । हिजाजीले खेलको २१ औँ मिनेटमा गोल गरेका थिए । तेस्रो बनेको पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । सातदोबाटोले हारबाट सिजनको अन्त्य गरेको छ । सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।