logo-img

भान्साको अचार बजारमा : आमा बनाउने, छोरा बेच्ने
‘घरको अचार’ मा के छ ?, कमलालाई सोधे हुन्छ ​

रमरम, मुखै रसाउने । अमिलो अनि ट्वाक्क पिरो । यस्तै यस्तै स्वादका अचार बनाउने,खाने र आफन्तलाई पनि चखाउने सानैदेखि लागेको बानी थियो–कमला श्रेष्ठको । काठमाडौं थापागाउँकी कमलाले बनाएको अचार भनेपछि आफन्त पनि हुरुक्क हुन्थे । आफुले बनाएको अचार अरूले मिठो मानी-मानी खाएको देख्दा उनी फुरुङ्ग नपर्ने कुरै भएन ।  

त्यति मात्र कहाँ हो र ? आफन्त, घरपरिवारले ‘राम्रो अचार बनाउन त कमलाबाट सिक्नुपर्छ’ भन्दै प्रोत्साहित गर्थे । उनलाई पनि लाग्थ्यो–‘म साँच्चै मीठो अचार बनाउँदी रहेछु ।’ अचार बनाउन पाउँदा संसार जितेको महसुस हुन्थ्यो,कमलालाई । यो त्यस बेलाको कुरा हो । अहिले पनि कथा उही छ,उस्तै छ । 

‘अचार बनाउन मात्र होइन, खान पनि मलाई एकदमै मन पर्छ । अचार बिना त मलाई खानै रुच्दैन,’ कमलाले फरकधारसँग आफ्नो कथा सुनाउन सुरु गरिन्, ‘अचार बनाउन म सानो उमेरदेखि नै सिपालु थिए । उ बेला गोलभेँडा, काँक्रा, गुन्द्रुक, सिलाम र टिम्मुरको अचार बनाउँथेँ ।’

अहिले कमलाको ‘घरको अचार’ को स्वाद परिवार र आफन्तमामात्र सीमित छैन,देश विदेशका नेपालीको भान्सामा पनि पुगेको छ । धेरैको जिब्रोमा झुन्डिएको छ । यसरी अचारका पारखीहरूमा घरको अचारको चर्चा हुन थालेको धेरै भएको छैन । अचार अध्याय सुरु हुन्छ–सन् २०१८ तिरबाट । 



कमला छोरीलाई लिएर विद्यालय जाँदै थिइन् । उनीहरूले बाटोमा अचार बेच्न राखेको देखे । छोरीलाई त्यो अचार नभई भएन । कमलाले किनिन्, असाध्यै मिठो लाग्यो । त्यही अचार कमलाका लागि व्यवसायको मार्गदर्शक बन्यो । 



उनी आफै पनि सानैदेखि अचार बनाउन सिपालु भएका कारण उनले छोरा रोहन श्रेष्ठसँग सल्लाह गरिन् । छोरा रोहन पनि अचारका पारखी थिए। सानैदेखि होस्टल बसेका रोहन बिदामा घर आएर होस्टल फर्कदा सधै आमाले बनाएको अचार कोसेली लिएर जान्थे । बाहिरका अरू खानेकुरा होस्टलमा लैजान अनुमति थिएन । ‘सानैदेखि होस्टल बसेको हुनाले बाहिरको खाना खाने मौका मिल्दैन थियो,’ रोहनले फरकधारसँग होस्टलका दिन साझा गरे,‘अचार मात्र लैजान मिल्थ्यो । मलाई ममीले बनाएको अचार एक्दमै मन पथ्र्यौ । मसँगै होस्टेलका अरू साथीहरू मेरो ममीले बनाएको अचारदेखि हुरुक्कै हुन्थे ।’

त्यसपछि ममीले राखेको प्रस्तावलाई आफूले सहजै स्वीकार गरेको उनी सुनाउँछन् । सुरूमा परीक्षणका लागि अचारका केही परिकार बनाए । हप्तामा एक दिन केही परिकार बनाएर कमलाले दिदीबहिनी र केही आफन्तलाई चखाइन् । साताको एक दिन शुक्रबार घरमा अचारका परिकार खाने भेटघाट आयोजना गरिन् । 



यसरी खानेहरूले मन पराएपछि आमाछोराले अचार बनाएर बेच्ने योजनालाई अघि बढाए । कमलाले अचार बनाउने एक साताको एउटा तालिम पनि लिएकी थिइन् । तालिममा विभिन्न स्वादका अचार बनाउने र बिग्रिनबाट जोगाउने तरिका जानेकी थिइन् । यसले पनि उनलाई अचार व्यवसाय गर्ने आँट दियो ।

 

‘तालिमबाट मैले अचारसम्बन्धी धेरै कुरा त सिके नै, त्योभन्दा धेरै हौसला र अचारको व्यवसाय गर्ने जोश जाँगर बटुलेँ । कमला उत्साही सुनिइन्,‘त्यही जोश आज राम्रो आम्दानीको स्रोत मात्रै होइन, मेरो पहिचानसमेत बनेको छ ।’

आमाछोराले सातामा पाँच किलो अचार बनाएर व्यवसाय सुरु गरे । पहिलो चरणमै बजार पाउने छाँट देखियो । बजार पठाउने भएपछि नाम चाहियो, ब्रान्ड बनाउनु पर्‍यो । ‘धेरै सोच्नै परेन । घरको भान्सामा बनाएको अचार भएकाले नामै घरको अचार राख्यौँ । यसैलाई ब्रान्ड बनाउन थाल्यौँ,’ रोहन भन्छन् । बजार राम्रै देखेपछि उनीहरूले उत्पादन बढाउन थाले । मरमसला र प्याकेजिङमा चाहिने सामान जुटाए । व्यवसाय सुरु गर्न खर्च पनि धेरै लागेन । जम्मा ३० हजार रूपैयाँबाट व्यवसाय सुरु गरेको रोहन बताउँछन् । 

रोहन आफैले बिजनेस पढेको हुनाले अचारको बजारीकरणमा कुनै समस्या भएन । ममीले थरिथरिका अचार बनाउने र उनी अचारको बजार खोज्ने  र बिक्री केन्द्र चलाउने गर्छन् । ‘व्यवसाय कसरी गर्न सकिन्छ भन्ने मलाई ज्ञान थियो,ममीसँग सीप । त्यसपछि ममीको सोख व्यवसायमा परिवर्तन भयो,’ उनले संक्षेपमा सुनाए । 

 

सुरु–सुरुमा आफ्नै सामाजिक संजालबाट अचारको प्रचारप्रसार गरेँ । प्रतिक्रिया राम्रो आउन थालेपछि उनले घरको अचार नामको फेसबुक पेज, वेबसाइट र इन्स्टाग्राम अकाउन्ट बनाए । यी सञ्जालमार्फत प्रचारप्रसार सुरु गरे । माग अनुसार यससँगै उत्पादन बढाउन थाले । 

यो अचार उद्योग हेर्दा सामान्य लाग्छ । थापागाउँमै एउटा स्टोर भाडामा छ । उक्त स्टोरको एउटा कोठामा अचार राख्ने भाँडा, मेसिन र अन्य उपकरणहरू छन्, जहाँ अचार पनि बनाइन्छ । अर्को कोठमा प्याकेजिङ, मार्केटिङ र बिक्रीका लागि राखिन्छन् । 

कमलाको अचार उद्योगको विशेषता भनेको अचारमा बिलकुल मौलिक र घरकै जस्तो स्वाद छ । न चर्को नुन न अनावश्यक चिल्लो । आफूलाई जस्तो अचार मन पर्छ त्यस्तै अचार बनाएर अरूलाई पस्किरहेको भनाइ छ,कमलाको । चाहिने मरमसला सबै घरमै सिलौटामा पिस्ने उनी बताउँछिन् । मसलामा अदुवा, लसुन, टिमुर हुन्छ । कहिलेकाहीँ माग बढेर एकै पटक धेरै अचार बनाउनु परे मिलमा लगेर पिसाउँछिन् । 

उनी आफ्नो उत्पादनको विशेषताबारे भन्छिन्, ‘मेरो अचारमा उपभोक्ताले आफ्नै घरमा बनाएको जस्तो स्वाद पाउनुहुन्छ । अति आवश्यक प्रिजरर्भेटिभबाहेक कुनै पनि अनावश्यक चिज प्रयोग गरिएको हुँदैन । स्वच्छताको कुरा गर्दा मैले जस्तो स्वच्छ खान चाहन्छु त्यस्तै अरूलाई पनि खुवाउने हो । गुणस्तर र स्वच्छतामा कुनै सम्झौता गरिँदैन ।’

उनी थप्छिन्,‘बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ । चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।’ आमा–छोराको यो उद्योगबाट मूला, आँप, लप्सी, मेथी र डल्ले खुर्सानीको आचार बन्छ । यीमध्ये मेथी र डल्ले खुर्सानी अचारको माग बढी छ । डल्ले खुर्सानी इलामबाट आउँछ । यी भेज अचार हुन्। भेज अचार प्याकिङ गरेको ३ महिनासम्म खान मिल्ने कमलाको दाबी छ ।

नन भेजमा बफ र चिकेनको अचार पाइन्छ । चिकेन/बफ फ्राइ गरेर, मरमसला मोलेर, बट्टामा प्याक गरेपछि अचार तयार हुन्छ । बट्टामा राखेको दुई दिनमा अचार खान योग्य बन्छ । यसको उपभोगको म्याद चाहिँ थोरै दिन मात्र हुन्छ । बजारमा चिकेन र बफ अचारकै माग बढी छ ।

त्यसैले माग अनुसार थोरै थोरै अचार बन्छ र उपभोक्तासम्म पुग्छ ।   ग्राहकलाई सिधै भेटेर अचारबारे प्रतिक्रिया लिने र ग्राहकको रुचि अनुसार अचारको स्वादमा हेरफेर पनि गरिन्छ । ‘कसैलाई बढी पिरो मन पर्छ,कसैलाई कम । नुन/पिरो लगायत स्वादमा केही फरक चाहिए ग्राहकको माग अनुसार बनाईदिन्छु,’ कमलाले सुनाइन्, ‘त्यसैले पनि घरको अचारलाई सबैले मन पराइदिनु भएको छ ।’

अचारको बजारीकरणका सवालमा कमलालाई अचारको गुणस्तरले नै सघाएको छ । भन्छिन्, ‘अचारको स्वाद र गुणस्तरमा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थाल्यो, धेरैलाई मन पर्‍यो ।’

माग बढेसँगै सातामा एक पटक बनाउने अचार दिनदिनै बनाउनुपर्ने भयो । अचार बनाउने हातैले हो,प्याकेजिङमात्र मेसिनबाट हुन्छ । सानो लगानीमा घरबाटै अचार व्यवसाय सुरु गरे पनि आम्दानी राम्रो छ । मासिक ८–९ लाखको कारोबार हुन्छ । अहिले काठमाडौं उपत्यकामा ६० प्रतिशत माग र खपत हुन्छ भने उपत्यकाबाहिर नेपालगञ्ज, पोखरा, धनगढी, झापालगायतका सहरमा पुग्छ । 

नेपालभित्र मात्र होइन, विशेष गरी भारत, युएइ, हङकङ, अमेरिका र जापानबाट पनि माग आउने गरेको छ । नेपाल बाहिरका नेपालीलाई पनि अचार खुवाउन पाएकोमा उनी निकै खुसी छन् । मूल्य पनि खासै महङ्गो छैन । उनले एक बट्टाको ३ सयदेखि १४ सयसम्ममा लिने गरेकी छन् । 

अहिले ७ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएकी छन् । पछिल्लो समय अचारका पारखी बढेका छन् ।  मागसँगै बजारमा अहिले धेरै प्रकारका अचार पाइन्छ । अचारको प्रयोग हाम्रो भान्छामा कुनै न कुनै रूपमा हुने हुँदा यसको बजार पनि राम्रो छ । त्यसैले पनि व्यवसायलाई अझै बढाउँदै लैजाने आमा–छोराको तयारी छ । 

काम सानो वा ठूलो जे भए पनि आफ्नै देशमा गर्न सके त्यसले जीवनभरलाई हुने आमा–छोराले बुझेको जीवन दर्शन हो ।   

  • प्रकाशित मिति : जेठ २७, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया