logo-img

दाइजोलाई लिएर सर्लाहीमा दुई महिलाको हत्या

दाइजोलाई लिएर सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं. ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो ।
    
वडा नं. ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट  एक लाख रुपैयाँ नल्याएको भन्दै पटक-पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए ।

ईदा बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक-पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए । ‘इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो’, बुबा साहले भने । कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो ।
    
घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीको भनाइ छ ।

त्यस्तै वडा नं.  ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षिय इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ । दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको थियो ।



इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लागिएको खबर पाएपछि शवलाई जल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

‘लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ’, पञ्जियारले भने । इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि फरार  छन् । शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस  





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया