logo-img

अध्ययनको गन्तव्य विदेश : नेपाललाई घाटा कि नाफा ?

‘प्लस टु’, ब्याचलर अथवा मास्टर्स सकेपछि कहाँ पढ्ने? प्रायःको एउटै उत्तर हुन्छ– विदेश। पछिल्लो सयम विदेश अध्ययनमा जाने विद्यार्थीको चाप बढ्दो छ। विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने क्रेजका कारण विदेशिनेको संख्या दिन–प्रतिदिन बढ्दै गएको हो। अस्ट्रेलिया, अमेरिका, बेलायत, जापानजस्ता मुलुक नेपाली विद्यार्थीको मुख्य गन्तव्य बन्न थालेको छ। उनीहरू व्यवस्थापन, आइटी, इन्जिनियरिङ तथा नर्सिङजस्ता विषय पढ्न विदेशिने गरेका छन्। 

नेपालजस्तो विकासोन्मुख देशका विद्यार्थीहरू अवसरको खोजीमा विदेश जानुलाई सकारात्मक मानिए पनि त्यो जनशक्ति स्वदेश नफर्किने समस्याले नेपाली समाज दक्ष युवाविहीन हुने खतरासमेत बढिरहेको केही विज्ञको भनाइ छ । नयाँ पुस्ताले बेलैमा विदेश गएर राम्रो शिक्षा लिने र उतै राम्रो कमाइ गरी परिवार सेटल गर्ने साझा उद्देश्य बोक्न थालेका छन्। तर, विदेशमा सिकेको सीप र लिएको शिक्षा स्वदेशमा उपयोग हुनसक्ने वातावरण बन्ने हो भने अहिलेको यो ट्रेन्ड भोलिको देश विकासका लागि महत्वपूर्ण बन्न सक्छ ।  

कुन वर्ष कतिले लगे नो अब्जेक्सन लेटर ?

शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन लेटर’ विदेशी शिक्षण संस्थामा अध्ययन गर्न राज्यले दिएको पूर्वस्वीकृति हो । पढाइ खर्चबापत लाग्ने आवश्यक रकम विदेशी मुद्रामा बैंकिङ प्रणालीमार्फत सटही सुविधा प्राप्त गर्नका लागि पनि नो अब्जेक्सन लेटर आवश्यक पर्छ । किनभने नो अब्जेक्सन लेटरविना विदेश अध्ययनमा जान आवश्यक विदेशी मुद्रा सटही गर्न मिल्दैन।



पछिल्लो समय नो अब्जेक्सन लेटर (एनओसी) लिनेको संख्या बढ्दो छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने एनओसी लिनेको संख्यामा व्यापक वृद्धि भएको पाइन्छ।  

चालू आर्थिक वर्ष ०७९/०८० फागुनसम्ममा ७९ हजार चार सय ३७ जनाले एनओसी लिएका छन् । यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा १ लाख दुई हजार पाँच सय चार जनाले नो अब्जेक्सन लेटर लिँदा ०७७/०७८ मा २८ हजार आठ सय ८३ जनाले लिएका थिए। यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा ३३ हजार १ सय ९६, आर्थिक वर्ष ०७५/७६ मा ६३ हजार ४ सय १७ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयले जनाएको छ।   



यसरी हेर्दा बर्सेनि एनओसी लिनेको संख्या बढ्दो छ। तर, एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् भन्ने छैन । कति देशमा भिसा लागेपछि शुल्क तिर्न, कति देशमा प्रोसेस गर्न र डलर सटहीका लागि एनओसी लिने गरेको बताउँछन्, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारी। 

‘एनओसी लिँदैमा सबै विद्यार्थी विदेश जान्छन् भन्ने छैन,’ उनी भन्छन्, ‘अमेरिकाका लागि भिसा लागेपछि एनओसी चाहिन्छ । अरूका लागि प्रोसेसिङ र डलर सटहीका लागि एनओसी चाहिने हो । एनओसी लिँदैमा भिसा लाग्ने भन्ने हुन्न । त्यसैले एनओसी लिएका सबै विदेश जान्छन् भन्ने हुँदैन । अस्ट्रेलियाका लागि एउटै व्यक्तिले दुईवटासम्म लेटर लिएको हुन्छ । नो अब्जेक्सन लेटरको संख्याले टोटल विद्यार्थीको संख्या देखाउँदैन ।’ त्यसकारण एनओसी लिने सबैजना विद्यार्थी विदेश नजाने उनको तर्क छ। तर, समग्रमा हेर्दा पछिल्लो समय विदेशिने विद्यार्थीको संख्या बढ्दो रहेको सहजै अनुमान लगाउन सकिन्छ। 



वार्षिक कति बाहिरिन्छ पैसा?

चालू आर्थिक वर्षको नौ महिनामा ठूलो रकम वैदेशिक अध्ययनका लागि बाहिरिएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत साउनदेखि चैतसम्ममा वैदेशिक अध्ययनकै लागि नेपालबाट ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ।  

गत आर्थिक वर्ष मा ०७८/०७९ मा वैदेशिक अध्ययनकै लागि नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा २४ अर्ब ९५ अर्ब बाहिरिँदा ०७६/७७ मा २५ अर्ब ८१ करोड र ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड बाहिरिएको थियो । 

कोभिड संक्रमणका बेला नेपालबाट वैदेशिक अध्ययनमा जान नपाएकाले कोभिडपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको सरकारी अधिकारी बताउँछन्। तर, यो क्रम कोभिडपछिका पछिल्ला वर्षमा पनि उच्च दरले बढिरहेको छ ।

यसरी हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने गरेको केही विज्ञहरूको भनाइ छ। यद्यपि, पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा राम्रो सुधार भएकाले त्यसको प्रभाव मुलुकको विदेशी मुद्रा सञ्चितिमा देखिन पाएको छैन ।

कति भित्रिन्छ रेमिट्यान्स ?

पछिल्लो समय विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दो छ। कामकै लागि विदेशिने नेपालीको संख्या बर्सेनि लाखौँमा विस्तार हुँदै गर्दा रेमिट्यान्स खर्बौंमा पुगेको छ ।

पछिल्लो समय बाह्य व्यापारमा प्रत्येक वर्ष हुने खर्बौंको व्यापार घाटालाई रेमिट्यान्सले नै सहयोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालको वैदेशिक व्यापारलाई सन्तुलनमा राख्ने काम पनि रेमिट्यान्सले गर्ने गरेको छ। 

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो १० महिना (साउन–वैशाखमा औसत १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँमा रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो परिमाण गत वर्षको यस्तै अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।

यस्तै, आर्थिक वर्ष ०७८/७९ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड पुगेको थियो। यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिँदा ०७६-०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र ०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

यसरी राष्ट्र बैंकको तथ्यांकलाई केलाउँला बर्सेनि रेमिट्यान्स वृद्धि भइरहेको छ। यो तथ्यांक एकमुष्ट विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स हो। तर, यस रेमिट्यान्समा पढ्न भनेर विदेश गएका विद्यार्थीको पनि ठूलो योगदान रहेको विज्ञ बताउँछन्। 

रेमिट्यान्समा विदेश पढ्ने विद्यार्थीको योगदान कति?

सामान्य अर्थमा हामी विद्यार्थी बाहिर जाँदा ठूलो रकम बाहिरिएको बुझ्छौँ। तर, त्यो गलत बुझाइ भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दीपकराज भुसाल बताउँछन्। उनी प्रस्ट्याउँछन्, ‘विदेश जाने विद्यार्थीबाट केही रकम एजुकेसन ट्याक्सको रूपमा नेपालमै रोकिएको छ। जब विद्यार्थी भिसा लागेर बाहिर गएका छन्, त्यसमा पनि आम्दानीको रूपमा १०–१५ प्रतिशत कन्सल्टेन्सीमार्फत नेपालमै भित्रिन्छ। अर्को रेमिट्यान्समार्फत पनि भित्रिएको छ। योसँगै ज्ञान, सीप पनि नेपाल भित्रिरहेको छ। यो कुरा बुझ्न जरुरी छ।’

उनका अनुसार विद्यार्थीबाट ठ्याक्कै यति नै रेमिट्यान्स भित्रिरहेको छ भनेर सरकारसँग तथ्यांक छैन। तर, ०७६ मा राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टको संयोजकत्वमा ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ सम्बन्धी एउटा अनुसन्धान भएको थियो। जसमा कुन देशबाट कति रेमिट्यान्स भित्रिरहेको छ भन्ने रिपोर्ट सार्वजनिक भएको थियो। जुन रिपोर्टमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने १२ वटा देश समावेश छ। 

जुन देशहरूमा पढ्न जाने विद्यार्थीको रोजाइमा परेका देशसमेत समावेश दिए। चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा कुल तीन खर्ब चार अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा सबैभन्दा बढी १७.७ प्रतिशत रेमिट्यान्स कतारबाट आएको थियो। नेपालको रेमिट्यान्समा भारतको हिस्सा १४ दशमलव २ प्रतिशत थियो।

यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)बाट १३.४ प्रतिशत र साउदी अरबबाट १२.५ प्रतिशत रेमिट्यान्स आएको देखिएको थियो। यस्तै, मलेसियाबाट आएको रेमिट्यान्सको हिस्सा ९.७ प्रतिशत थियो भने नेपाल भित्रिएको कुल रेमिट्यान्समा संयुक्त राज्य अमेरिकाको हिस्सा ८ दशमलव ३ प्रतिशत (२५ अर्ब ४२ करोड) देखिएको थियो । यस्तै, जापानबाट ७.५ (२२ अर्ब ८७ करोड), बेलायतबाट १.७ प्रतिशत (५ अर्ब ४ करोड) रेमिट्यान्सको हिस्सा हुँदा अष्ट्रेलियाबाट ०.४ प्रतिशत (१ अर्ब ४३ करोड) थियो। 

यस तथ्यांकबाट विद्यार्थीले रेमिट्यान्समा पारेको प्रभाव छर्लङ्ग हुने उनी बताउँछन्। पढ्नका लागि विद्यार्थीको रोजाइमा परेका देश अमेरिका, जापान, बेलायत, र अष्ट्रेलिया सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने देशमा पर्न सफल भएका थिए । त्यसकारण पढ्नलाई भनेर विदेशिए पनि पार्टटाइम काम वा पढिसकेपछि कमाएको पैसा रेमिट्यान्समार्फत ठूलो संख्यामा नेपाल भित्रिरहेकोे उनको तर्क छ। 

विदेश अध्ययनमा जाँदा नेपाललाई घाटा छ?

विशेषगरी रेमिट्यान्समार्फत विदेशी मुद्राको ठूलो आर्जन हुने गरेको छ। रेमिट्यान्स कम्पनी वा बैंक वित्तीय संस्थाले विदेशबाट आएको रकम हरेक दिन राष्ट्र बैंकमा लगेर बिक्री गर्छन्। सामान्यतयाः कुनै एक स्थानबाट कुनै अर्को स्थानमा कुनै पनि प्रयोजनका लागि रुपैयाँ पैसा पठाउने कार्यलाई रेमिट्यान्स विप्रेषण भनिन्छ । विशेष गरी रेमिट्यान्स बाह्य देशमा कार्यरत नागरिकहरुले कमाएर आफ्नो देशमा पठाउने पुँजी, नगद वा वित्त हो । रेमिट्यान्स नेपाली अर्थतन्त्रको मेरुदण्ड हो। नेपाल भित्रिने रेमिट्यान्सको नेपालको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत हिस्सा रहेको सरकारी तथ्यांक नै छ । 

पछिल्लो समय विद्यार्थीमार्फत अर्बौँ रुपैयाँ बाहिरिए पनि रेमिट्यान्स बढ्दो रहेको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन्। उनका अनुसार विद्यार्थीहरूले ठ्याक्कै यति नै रकम पठाए भन्ने तथ्यांक भने पाइँदैन। उनी भन्छन्, ‘रेमिट्यान्स कुन देशबाट कति आउँछ र श्रमिक अथवा विद्यार्थीले पठाएका हुन् भनेर छुट्याउन सकिँदैन। रेमिट्यान्सको फिगर एउटै हुन्छ। जुन हामीले महिनैपिच्छे सार्वजनिक गरिरहेका हुन्छौं।’

तर, नेपालको अर्थतन्त्रमा केही सहयोग पुगेको उनी दाबी गर्छन्। उनका अनुसार विद्यार्थीमार्फत ठूलो रकम बाहिरिने मात्र होइन, भित्रिने गरेको पनि छ, जसबाट नेपाललाई फाइदा पुगिरहेको छ। ‘नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिइरहेको छ,’ उनी स्पष्ट पार्छन्, ‘तर, अधिकांश नेपाली यताबाट विदेश पढ्नलाई भनेर गए पनि उनीरूले काम गरेर पैसा कमाइरहेका छन्। उनीरूले कमाएको पैसा नेपाल नै भित्रिरहेको छ। हामीले यो कुरामा पनि ध्यान दिनुपर्छ।’

विदेशिएका विद्यार्थीबाट नेपालीको जीवनस्तरलाई उकास्ने गरी रेमिटेन्स त भित्रिएकै छ। साथै उच्च ज्ञान सीप, सर्टिफिकेट पनि भित्रिरहेको उनको तर्क छ। ‘यो विषयमा पैसा मात्र बाहिरियो भनेर हेर्न हुँदैन,’ उनी भन्छन्, ‘होला केही पैसा बाहिरिएको छ। तर, उनीहरू फर्कंदा रेमिट्यान्स, ज्ञान, सीप लिएर आउँछन्। र, उनीहरूले त्यहाँ पढेका ज्ञान, सीप नेपालमा प्रयोग गर्न सक्छन्। यसरी धेरै पक्षबाट सोच्नुपर्छ।’

वैदेशिक अध्ययनका लागि जानु भनेको पलायन हुनु होइन । यतैको नागरिकता लिएर सबै उतै बस्छन् भन्ने नभएको तर्क गर्छन्, नेपलिज एसोसिएसन अफ अस्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर)का अध्यक्ष प्रेम पाण्डे। वैदेशिक अध्ययनका क्रममा गएर केही वर्ष काम गरेपछि त्यहाँ सिकेको सीप र ज्ञान बाँडेका नेपालमा थुप्रै उदाहरण रहेको उनी बताउँछन्। 

‘पैसा मात्र बाहिरियो। विदेश पढ्न जान दिनु हुँदैन भन्ने तर्क गलत हो,’ उनी प्रस्ट्याउँछन्, ‘विदेश पढ्न जाने/नजाने आफ्नो व्यक्तिगत कुरा हो। पैसा गएको कुरालाई मात्र हामीले विश्लेषण गर्नुहुँदैन, आएको पनि हेर्नुपर्छ/मूल्यांकन गर्नुपर्छ।’ 

विदेश पढेर आफ्नै देश फर्किएका विद्यार्थी व्यावसायिक, व्यापारिक, राजनीतिक क्षेत्रमा उल्लेख्यरूपमा रहेको उनी बताउँछन्। ‘वैदेशिक अध्ययनका लागि जाने सबै उतै पलायन हुन्छन् भन्ने हुँदैन, नेपालमा वैदेशिक अध्ययनबाट फर्केकाहरुले अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन्,’ उनी स्पष्ट पार्छन्, ‘बरु वैदेशिक अध्ययनसँगै ज्ञान, सीप र दक्षता लिएर फर्किन्छन् ।’नफर्कनेहरूका लागि सरकारले नेपाल फर्काउने वातावरण बनाउनुपर्ने पनि उनी बताउँछन्। त्यसका लागि नेपाल सरकारले अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवा युरोप, अमेरिका, क्यानाडा, जापान, कोरियाजस्ता मुलुकमा पुग्ने गरेका छन्। विद्यार्थी विदेशिनबाट रोक्न सरकारले उच्च शिक्षाका लागि नेपालमै पनि गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै रोजगारीको सिर्जना गर्नुपर्ने उनी बताउँछन्। ‘समयमा जाँच र समयमा रिजल्ट आउनुपर्यो। नेपालकै विश्वविद्यालय राम्रा भए भने पढ्नका लागि अन्त को जान्छ?,’ उनी प्रश्न गर्छन्, ‘शिक्षाको गुणस्तर मात्र होइन, यहीँ काम गर्ने वातावरण पनि बनाउनुपर्यो।’

नेपालको शैक्षिक प्रणाली, अवस्था कमजोर भएकै कारण नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको भन्न मिल्दैन । तर, केही कमी कमजोरी रहेको उनको धारणा छ। व्यावसायिक रूपमा नयाँपन ल्याउन वैदेशिक शिक्षा आवश्यक रहेको उनको बुझाइ छ। उनी भन्छन्, ‘खासगरी शैक्षिक संस्कृति आदानप्रदानका लागि हो, विदेश जाने । त्यहाँको शिक्षा विश्वमा प्रतिस्पर्धा गर्न सक्ने हुन्छ । नेपालमै मात्र बसेर विश्वमा के भइरहेको छ भन्ने थाहा हुँदैन ।’

अर्को कुरा, उच्च शिक्षाका लागि विदेश गइसकेपछि विद्यार्थीहरू आत्मनिर्भर पनि बन्छन् । त्यहाँ गइसकेका विद्यार्थी आफ्ना लागि आफैँ खर्च उठाएर पढ्न सक्ने हुन्छन् । यो पनि फाइदाको एक पक्ष हो । नेपालमा हो भने ब्याचलर, मास्टर नसकुन्जेलसम्म अभिभावकमा नै निर्भर भइरहेको अवस्था छ ।   

यस्तै, विदेशमा त्यहाँको रहनसहन र प्रविधिबारे राम्रो अध्ययन अनुसन्धान गर्न सकियो भने नेपालमा आएर धेरै राम्रो गर्न सकिन्छ । विदेशमा दीक्षित भएका युवाको शिक्षा, सीप, अनुभव र ज्ञानलाई नेपालमा सदुपयोग गर्न सकियो भने त सुनमा सुगन्ध हुन्छ । यसमा राज्यले पनि जोड दिनुपर्छ ।   

  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया