logo-img

साफ च्याम्पियनसिप चुनौतीपूर्ण छ : कप्तान चेम्जोङ

साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई बिदाइ गरिएको हो । 

नेपालले साफ च्याम्पियनसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, एन्फा महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । टोलीलाई राखेप उपाध्यक्ष शिव कोईरालासहित एन्फा  पदाधिकारीले झण्डा हस्तान्तरण गरे । 

बिदाइ पछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताए । उनले छोटो समयको तयारीका बाबजुद पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताए ।  भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोली पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अपेक्षा राखे । अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतीपूर्ण रहेको कप्तान किरणले बताए । साबिक विजेतासहित कुवेत जस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौती भएको बताए । 

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिलिपिन्ससँगको खेलमा नेपालले स्वाभाविक खेल कालागि प्रयास गर्ने बताए । नेपाली टोली आफ्नो खेल खेल्दै प्रतियोगिताको  तयारी गर्ने बताउँदै प्रशिक्षक एनेसले बलियो फिलिपिन्ससँग विगतको नतिजा जस्तो भए पनि स्वाभाविक खेल्दै साफ खेलमा राम्रो गर्ने रणनीति बनाएको बताए । फिलिपिन्सलाई रोक्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नका लागि फिलिपिन्ससँगको खेल महत्त्वपूर्ण रहेको भन्दै एनेसले नेपाली टोलीमा धेरै नयाँ अनुहार भएको र उनीहरूबाट आफूले धेरै अपेक्षा गरेको भन्दै प्रशिक्षकले प्रतियोगिता राम्रो हुने विश्वास गरे ।

भारतको बैंगलुरुमा आयोजना हुने १४ औँ संस्करणको साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले तीन नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् । टोलीमा प्रशिक्षक एनेसले डिफेन्डरमा विमल पाण्डे र सीमान्त थापा तथा मिडफिल्डर लाकेन लिम्बूलाई समेट्दै नेपाली टोलीको घोषणा गरेका हुन् । टोलीमा विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लवका खेलाडी हुन् ।

प्रतियोगिता असार ६ गतेदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तान सम्मिलित कठिन समूहमा रहेको छ । समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । 



यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेबनान र कुवेतले आमन्त्रित टोलीको रूपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यस्तै प्रतियोगिताको समूह बी मा लेबनान, मालदिभ्स, भुटान र बंगलादेश छन् । नेपालले साफ च्याम्पियनसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली उतैबाट बैंगलुरु प्रस्थान गर्ने तालिका रहेको छ ।



  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया