logo-img

नागरिकता विधेयकसम्बन्धी आदेश नआए सत्याग्रहमा बस्ने माओवादी नेताको चेतावनी

नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले सर्वोच्च अदालतबाट नागरिकता विधेयकसम्बन्धी आदेश अविलम्ब नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । आज जनकपुरमा पत्रकार सम्मेलन गरी नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिएका हुन् । 

नागरिकतासम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने शर्माले माग गरे । नेपालको संविधान, २०७२ जारी भएको करिब आठ वर्ष भइसकेको र संविधान जारी भएको मितिले तीन वर्षभित्र संघीय संसद्बाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिए पनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने शर्माको भनाइ छ । 

नागरिकता विधेयक संघीय संसद्बाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दासमेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको शर्माले आरोप लगाए । ‘संविधानबमोजिम नागरिकता पाउनयोग्य १० लाखभन्दा बढी नेपाली युवाको पीडालाई आत्मसात् गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित गर्र्यो,’ उनले भने, ‘षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकै लागि षड्यन्त्र सुरु भएको छ ।’ 

राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउन आवश्यक रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया