logo-img

भ्रष्टाचारमा तानिएका नेताको प्रतिरक्षा नगरौँ, निर्दोष भए अदालतले साबित गर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राखेका हुन् । 

शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरुलाई निर्दोष साबित गर्ने प्रयास गर्न नहुने बताए । नेताहरुलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरुले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

महामन्त्री शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोपमा परेका नेताहरुलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानबिन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्वपूर्ण कदम हुने पनि स्मरण गराए । उनले भने, ‘मेरो पार्टीको अमूक नेताचाहिँ निर्दोष हुनुहुन्छ, फसाउन खोजिँदै छ भनेर हामी कसैले भन्न पाउँदैनौँ । यो देशमा कानुन छ । यो देशमा संविधान छ । यो देशमा अख्तियार छ । यो देशमा अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ ।’

महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्याएर नहुने, प्रधानमन्त्री दुईपटकभन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गरे । त्यसो गरियो भने त्यसले शासन व्यवस्थामा सुधारका प्रक्रियालाई अघि बढाउने र सक्षमहरुले मुलकको जिम्मेवारी सम्हाल्दै अघि बढ्ने अवस्था आउने उनको बुझाइ थियो । महामन्त्री शर्माले भने, तीनपटक मन्त्री भएपछि चारपटक नपाउने बनाऊँ । ४ पटक सांसद भएपछि बिदा लिने सिष्टम बनाऊँ । जतिसुकै योग्य व्यक्ति भए पनि योभन्दा बढी जिम्मेवारी नलिऊँ’ । 





  • प्रकाशित मिति : असार २, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया