logo-img

कांग्रेसको नयाँ बाटो : सक्किने, सच्चिने वा छुट्टिने ?
गुट–उपगुटमा विभाजित कांग्रेसभित्र अस्तित्व रक्षाको बहस

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्रको अवस्था अहिलेकै निरन्तरतामा चल्ने हो भने ०५८ तिरको अवस्था हुने दाबी गरे । ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।

वर्तमान संविधान निर्माणमा प्रमुख भूूमिका खेल्नेमध्येका एक र नेपाली कांग्रेसमा एउटा धारको नेतृत्व गरिरहेका नेता सिटौलाले ०५८ को स्मरण गराउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । कांग्रेसका पछिल्ला दुई महाधिवेशनमा देउवालाई नै सभापतिमा साथ दिएका सिटौलाले पार्टीको वर्तमान स्थितिलाई ०५८ सालसँग तुलना त गरे, तर यसबारे विस्तृत केही बोलेनन् । 

विद्रोही माओवादीविरुद्ध संकटकाल लगाउने कि नलगाउने भन्ने विषयमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग मतभेद भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको कारबाहीमा परे । पार्टी सभापति कोइराला र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको टकरावका कारण देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा फुटेको कांग्रेस ०६४ को संविधानसभा निर्वाचनअघि पुनः एक भएको थियो । 

सोमबारै सोही कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने बताए । देश बदल्नका लागि सबैभन्दा पहिला कांग्रेस बदल्न आवश्यक रहेको बताउँदै उनले अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए । 

कांग्रेसलाई दुर्घटनाबाट बचाउनका लागि फरक ढंगमा चलाउनुपर्ने उनको जिकिर थियो । महामन्त्री थापाले आवश्यकताअनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए । देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठीक ढंगले सम्हाल्न सक्नुपर्ने बताउँदै उनले यस्तो बेलामा कांग्रेसले सम्हाल्न नसके मुलुक थप १५ वर्षपछि धकेलिने बताए । 



सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. शेखर कोइरालाले कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । सत्तापक्षका सांसदहरुले नै आफ्ना माग सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले बजेटमा पुनर्विचार आवश्यक रहेको बताए । कोइरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउने विषयकोे विरोध गरे । सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदा कसरी निर्वाचन स्वच्छता र निष्पक्ष हुन्छ सरकारले बुझाउनुपर्ने उनको भनाइ थियो । 

आफ्नो स्वभावअनुसार कोइराला आक्रामक रूपमा प्रस्तुत नभए पनि आफ्नै पार्टीका नेताले अर्थमन्त्रीका रूपमा ल्याएको बजेटमा उनको टिप्पणीले कोइराला कांग्रेसको संस्थापन पक्षसँग सन्तुष्ट नरहेको बुझ्न सकिन्छ ।  



सोही कार्यक्रममा सम्बोधन गर्दै कांग्रेसका कार्यवाहक सभापतिसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताए । पार्टीका महामन्त्री थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे । 

आफ्ना कमजोरी र गल्ती सच्याएर अघि बढ्न सके मात्रै रूपान्तरण सम्भव भएको जिकिर गर्दै उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको बताए । नयाँ संकल्पबाट सबै एकताबद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै उपप्रधानमन्त्री खड्काले एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताए । 

एउटै कार्यक्रममा कांग्रेसका नेताहरुको फरकफरक धारणाले अहिले कांग्रेसमा गहिरिएको राजनीतिक संकटलाई इंगित गर्छ । कांग्रेसको संस्थापन पक्ष अहिले रक्षात्मक अवस्थामा छ । झण्डै ७५ प्रतिशत केन्द्रीय समितिको शक्ति भए पनि आमकार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्न सभापति देउवाले सकेका छैनन् । दुई महामन्त्रीको बलमा आक्रामक देखिएको इतर पक्ष केन्द्रीय समितिमै अत्यन्त अल्पमतमा रहेका कारण निर्णायक भूमिकामा छैन । 

अहिले राजनीतिक संकट कुनै पार्टीलाई परेको छ भने  कांग्रेसलाई परेको छ । संसदमा ८८ सिटसहित पहिलो स्थानमा रहेर पनि कांग्रेस अहिले सबैभन्दा संकटग्रस्त छ । पहिलो दल भएर पनि न सरकारको नेतृत्व गर्न पाएको छ न ठूलो दल हुनुमा एकल जस नै पाएको छ । गठबन्धनबाट निर्वाचन लडेका कारण मात्रै कांग्रेसले अहिलेको ‘पोजिसन’ प्राप्त गरेको हो भनेर प्रतिपक्षी एमाले मात्रै होइन, आफ्नै सहयात्री दलहरुले समेत कांग्रेसलाई ठूलो दलको एकल जस दिन मानिरहेका छैनन् । 

सैद्धान्तिक रूपमा धेरै समानता भए पनि प्रमुख प्रतिस्पर्धी भएकाले नेकपा एमालेसँगको सहकार्य कांग्रेसका लागि तत्काल सम्भव छैन । यदाकदा एमालेका नेताहरुले कांग्रेससँग मिलेर सरकार बनाउने चर्चा गरे पनि सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको ‘राजनीतिक चातुर्य’का कारण कांग्रेस एमालेसँगको सहकार्यमा अघि बढ्न चाहिरहेको छैन । आफ्नै सत्तासहयात्री दलले समेत ‘समाजवादी मोर्चा’का नाममा कार्यगत एकता गरेपछि कांग्रेसका लागि झन् चुनौती थपिएको छ ।

एकातिर परम्परागत प्रतिस्पर्धीहरूसँग मुकाविला गर्नुपरेको छ भने अर्कोतिर नयाँ दल रास्वपाले पनि कांग्रेसलाई चुनौती दिइरहेको छ । सात दशकसम्म लोकतान्त्रिक दलको एकल फाइदा लिइरहेको कांग्रेसका लागि एक वर्षअघि मात्रै गठन भएको रास्वपा चुनौती बनेको छ । पहिलो प्रयासमै संसदमा राम्रै वर्चस्व कायम गर्न सफल रास्वपाले कांग्रेसको लोकतान्त्रिक हिस्सेदारीमा धावा मात्रै बोलेको छैन, कार्यकर्ता तहमै दिनानुदिन रास्वपा प्रवेशले संगठनमा पनि कमजोर बनाइदिएको छ । 

यतिखेर देश आर्थिक संकटले ग्रस्त छ । मुलुकको आर्थिक संकटलाई व्यवस्थापन गर्ने र मुलुकलाई सही दिशामा लग्ने जिम्मेवारी सरकार र राजनीतिक दलको हो । तिनै राजनीतिक दल नै संकटमा परेपछि मुलुक आर्थिक, राजनीतिक, भौगोलिक संकटमा पर्नु कुनै नौलो विषय होइन । 

संसदको सबैभन्दा ठूलो दल कांग्रेस अहिले आफैँ चरम संकटमा छ । यसका सभापति देउवा अहिले ‘उपचार’का क्रममा सिंगापुरमा छन् । देउवा स्वदेश फर्केपछि पुनः कांग्रेसमा एकपटक रूपान्तरणको बहस चर्किने देखिन्छ । त्यो बहस बढ्दै जाँदा कांग्रेस कतै विभाजनको सँघारमा पुग्ने त होइन ? भन्नेमा आमराजनीतिक वृत्तको चासो छ ।
 

  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया