logo-img

लागुऔषधको अखडा बन्दै कञ्चनपुर : ११ महिनामा २५५ जना पक्राउ

कञ्चनपुरमा चालू आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित २ सय ५५ जना पक्राउ परेका छन् ।

पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । 

गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, ४ सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, ३ सय ५८ एम्पुल फेनारगनलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । 

यहाँ भारतसितको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागुऔषधको कारोबार  हुने गरेको छ । कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ ।  

प्रहरी निरीक्षक गिरीका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा २ सय २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन् । ‘जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ ।’  

यहाँ भारतसित सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागुऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ । महेन्द्रनगरस्थित धूमपान निधेषका अभियन्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागुऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुपर्ने बताउँछन् ।  



‘प्रहरीले मात्रै नियन्त्रण गरेर लागुऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ, यसका लागि सामूहिक प्रयासको खाँचो छ,’ उनले भने । रासस 



  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १०:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया