logo-img

प्रभु साहको प्रस्ताव : किसानलाई पेन्सनको व्यवस्था गरौँ

आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरूलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क थियो ।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले लुटेर बसेका कर्मचारीलाई पेन्सन दिने तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए ।  

उनले विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्‍याउन पनि सरकारलाई सुझाव दिए ।  

‘किसानलाई पेन्सनको व्यवस्था गरौँ । लुट्ने स्थायी सरकारलाई होइन । जति ठूलो पोष्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन । स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? दुनियाँका लागि खनुपसिना सुकाएर जीवन दिनेलाई सम्मान गर्ने हो कि चुसेर महल ठड्याउनेलाई सम्मान गर्ने हो ?,’ साहले प्रश्न गरे, ‘त्यसैले म चाहन्छु– सरकारले यसमा आँट गरोस् । किसानहरूले आफ्नो हक प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था नआओस् । कृषिलाई आकर्षक बनाउन यो परम्परागत बजेटले सम्भव छैन । त्यसमा नितान्त नयाँ ढंगले सोच्न म विशेष आग्रह गर्न चाहन्छु ।’ 

उनले गरिवलाई पनि पढ्न सक्ने वातावरणको निर्माण हुने गरी शिक्षा क्षेत्रका बजेटको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।  
 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १४:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया