त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद करिब एघार महिनादेखि रिक्त छ । सरकारले सो पदमा नियुक्ति गर्ने तयारी गरे पनि अन्तिम समयमा पछि हटेको छ । प्रक्रिया मिचेर नियुक्ति दिन लागेको विषय बाहिरिएपछि विवादमा आउने डरले सरकारले तयार गरेको नियुक्तिपत्र समेत दिएन ।
सत्ता गठबन्धनभित्रको राजनीतिक भागबन्डामा त्रिवि सेवा आयोगको अध्यक्ष एकीकृत समाजवादीको भागमा परेको थियो । सरकारले समाजवादीनिकट प्राध्यापक विजय सिलवाललाई नियुक्त गर्ने तयारी गरेको थियो । अध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिले प्रक्रिया मिचेर सिलवालको नाम सिफारिस गरेका कारण उनले बनिसकेको नियुक्तिपत्र पनि नपाएका हुन् ।
अघिल्लो शुक्रबार (असार १ गते) सिलवाललाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको सरकारले शनिबार सिलवाललाई नियुक्तिपत्र लिन खबर गरेको थियो । आइतबार नियुक्ति पत्र लिन गएका सिलवाललाई पछि खबर गर्छौं भनेर फर्काइएको थियो । तर, प्रक्रिया मिचेर नियुक्ति गर्न लागेको भन्दै समाचार बाहिरिएपछि विवादमा पर्ने डरले उनलाई फर्काएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा बनेको सिफारिस समितिले सिलवालको एकल नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा शिक्षामन्त्री राई, शिक्षा सचिव रामकृष्ण सुवेदी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल रहेका थिए ।
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ पहिलो साता अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेका थिए । शिक्षामन्त्री राईको अध्यक्षतामा गठित उक्त समितिले आवेदन नै आह्वान नगरी सिलवालको मात्र निवेदन परेको भन्दै एकल नामावली सिफारिस गरेको थियो ।
स्रोतका अनुसार त्रिवि ऐनको कार्यविधिमा सेवा आयोगको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस गर्ने प्रावधान रहेको छ । यसअघि अध्यक्ष नियुक्ति गर्दा पनि तीनजनाकै नाम सिफारिस गर्ने प्रचलन रहेको थियो । ‘सर्च कमिटीले तीनजनाको नाम सिफारिस गर्नुपर्नेमा एकजनाको मात्र नाम सिफारिस गर्याे,’ स्रोतले भन्यो ।
तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिवि सेवा आयोगको अध्यक्षका लागि आह्वान गरेको विज्ञापनमा ३८ जनाको आवेदन परेको थियो । त्यसलाई लत्याउँदै सरकारले भाडबण्डाका आधारमा सिलवालको एकल नाम सिफारिस गरेको थियो । जबकि सिलवाल आवेदन दिने ३८ जनामध्येमा नरहेको स्रोतको भनाइ छ । मुद्दा पर्ने सम्भावना भएपछि बनेको नियुक्ति पनि नदिएको स्रोतको भनाइ छ ।
‘नियुक्ति बनिसकेको थियो । शुक्रबार निर्णय गरेर, शनिबार नियुक्ति पत्र लिन बोलाए । आइबार नियुक्तिपत्र बुझ्न जाँदा तपार्इंलाई पछि कल गर्छौं भनेर फर्काए,’ सिलवाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।
तत्कालीन अध्यक्ष लालुप्रसाद पौडेलको पदावधि २०७९ साउन १८ मा सकिएपछि आयोग करिब ११ महिनादेखि अध्यक्षविहीन छ । अध्यक्षको कार्यकाल तीन वर्षको हुने कानुनी प्रावधान रहेको छ । सेवा आयोग अध्यक्षविहीन बन्नुको सीधा असर त्रिवि प्रशासनमा परेको छ । आयोग नै अध्यक्षविहीन भएपछि त्यहाँबाट सञ्चालन हुने दैनिक कामसमेत प्रभावित भएको छ ।
आयोग नै लामो समयदेखि अध्यक्षविहीन हुनपुग्दा विश्वविद्यालयमा आवश्यक शिक्षक र कर्मचारीको पदस्थापन, रिक्त पद पूर्तिका लागि नयाँ विज्ञापन आह्वान, कार्यदक्षताका आधारमा आन्तरिक हुने बढुवालगायत सबै काम ठप्प छन् ।
प्रक्रिया मिलाएर सिलवाललाई नै नियुक्त गर्ने तयारी
प्रक्रिया नपुर्याई नियुक्ति दिँदा विवादमा तानिने भएपछि पछि हटेको सरकारले फेरि प्रक्रिया पूरा गरेर सिलवाललाई नै नियुक्ति दिने तयारी गरेको छ । स्रोतले भन्यो, ‘अध्यक्षमा नियुक्ति हुने व्यक्ति उही नै हो । प्रक्रिया मिलाएर तीनजनाको नाम सिफारिस गर्ने र नियुक्ति गर्ने तयारी भइरहेको छ ।’
स्रोतका अनुसार सिफारिस समितिले अरू दुईजनासहित सिलवालको नाम पुनः कुलपतिसमक्ष पठाउँछ र सिलवाल नै आयोगको अध्यक्षमा नियुक्त हुन्छन् ।
समाजवादी गठन हुनुअघि एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनमा सक्रिय रहेका सिलवाल राजनीतिशास्त्रका प्राध्यापक हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।