logo-img

गुठीको जग्गामा भूमाफियाको रजाइँ
एउटै जग्गामा दोहोरो दाबी : कोही भवन बनाउँदै, कोही भत्काउँदै

जनकपुरधाममा गुठीको जग्गामा घर निर्माण गर्न तँछाडछाड भइरहेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ धनेश्नर नगरमा रामजानकी दुल्हा दुल्हिन मन्दिरको नाममा रहेको सात बिघाभन्दा बढी जग्गामा अवैधानिक रूपमा भवन निर्माण भइरहेको क्रम अझै रोकिएको छैन । 

भूमाफियाहरुको आर्थिक चलखेल गर्दै सबैजसो जग्गामा व्यक्तिले कब्जा जमाइसकेका छन् । स–साना झुपडीदेखि ठूलठुला भवनसम्म निर्माण हुने क्रम दिनहुँ जारी रहेको देखिन्छ । यस विषयमा सरोकारवाला सबै निकाय अहिलेसम्म मौन देखिएका छन् । 

यसैबीच, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने शिवशंकर नागवंशीले मन्दिरका महन्थ धनेश्वर दाससँग आफूले ०३२ सालमा नै मनखपमा खरिद गरेको कित्ता नम्बर ३०९ को ७ बिघा १ कट्ठा १० धुर जग्गा मध्येको १० धुर जग्गामाथि धनुषाको सबैला नगरपालिका वडा नम्बर–७ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धी धनेश्वर नगर बस्ने नवल साहले जबर्जस्ती कब्जा जमाएर घर निर्माण गर्न लागेको आरोप लगाएका छन् । 

रामजानकी दुल्हा भगवान मन्दिरको नाममा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ को कित्ता नम्बर–३०९ को ७ बिघा १ कट्ठा १० धुर जग्गामध्ये १० धुर जग्गा स्व. महन्थ धनेश्वर दाससँग खरिद गरी आफूले भोग चलन गर्दै आएको र कुत बुझाउँदै आएकाले कुनै विवाद नरहेको नागवंशीको दाबी छ । 

तर, नवलले अहिले आएर भूमाफियासँगको संलग्नतामा बलजफ्ती आफ्नो जग्गामा विनानक्सा गैरकानुनी ढंगबाट घर निर्माण गरिरहेको शिवशंकर नागवंशीका छोरा मुन्ना नागवंशीले बताए । आफ्नो जग्गामा नवलले निर्माण गर्न लागेकाले निर्माण कार्य रोक्का गरी उनलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ बमोजिम कारबाहीको माग गरेका छन् । 

उनले यस जग्गामा अवैध घर निर्माण गर्न÷गराउन सबै संयन्त्र परिचालन गरिएको र यसमा भूमाफियादेखि स्थानीय प्रहरी प्रशासन आर्थिक लेनदेनमा परेको दाबीसमेत गरेका छन् । 



हाल विवादित रहेको सो जग्गामा घर निर्माण नगर्न गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरे पनि नवलले कसैको कुरा नसुनी एकतर्फी रुपले मनोमानी घर निर्माण गरिरहेको मुन्नाको भनाइ छ । घर निर्माणको विषयमा उजुरी गरेपछि संस्थानले दुवै पक्षलाई बोलाएर तत्काल घर निर्माण नगर्न भनेको थियो । 

गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्दप्रसाद कर्माचार्यले गुठी संस्थानमातहतको सो तैनाथी जग्गामा व्यक्तिले निजी संरचना निर्माण गरे त्यसलाई भत्काउने प्रतिबद्धता जनाएका छन् । गुठी अधिनस्थ जग्गा व्यक्तिको हुन नसक्ने भन्दै उनले अवैध निर्माण कार्यलाई रोक्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । सो जग्गालाई गुठीमातहतमा ल्याउने उनको प्रतिबद्धता छ । 



स्थानीय जिरोमाइल प्रहरी चौकीका इन्चार्ज चन्दन सिंहले भने त्यहाँ निर्माण कार्य नभइरहेको दाबी गरे । तर, त्यहाँ घर निर्माणको काम अझै रोकिएको छैन । बुधबार दिउँसो सञ्चारकर्मीको टोली त्यहाँ पुग्दा निर्माण कार्य भइरहेको पाइएको थियो । 

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले सो जग्गाको मोहियानी प्रमाणपत्र जोसँग छ उसको हुने बताए । तर, कुत बुझाएको दाबी गर्दै आएका शिवशंकर नागवंशीले सोही बेला नै महन्थसँग जग्गाको मोहियानी प्रमाणपत्र नबनाएको भए सो जग्गा गुठी मातहतमा ल्याउनुपर्ने जिकिर गरे । 

जनकपुरधामभित्र गुठीका जग्गामा अवैध संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्दै मेयर साहले रत्नसागर मठ र रामजानकी दुल्हा दुल्हिन मन्दिरको आसपासमा निर्माण भएका अवैध संरचना भत्काउन कठिन रहे पनि नयाँ संरचना निर्माण हुन नदिन सबै सचेत हुनुपर्ने बताए । यो आमनागरिकको दायित्व पनि रहेको उनको भनाइ छ । 

नगरभित्र पार्किङस्थल निर्माण गर्न उपमहानगरले गुठीसँग हारगुहार गर्नुपर्ने अवस्था रहेको औँल्याउँदै उनले यसकारण सो जग्गाको स्वामित्व गुठी नै भएको बताए । उनले भने, ‘यसमा गुठी नै बढी चनाखो हुनुपर्दछ । हामीले त्यसका लागि सहयोग मात्र गरिदिने हो ।’

उनले गुठी मातहतको जग्गामा यदि कुनै व्यक्तिले नयाँ संरचना निर्माण गरिरहेका छन् भने उपमहानगरलाई जानकारी दिन आग्रहसमेत गरेका छन् । उपमहानरले त्यस्ता अवैध निर्माणलाई तुरुन्त भत्काउने उनको प्रतिबद्धता छ । 

नगर प्रमुख साहले यस्तो प्रतिबद्धता जनाइरहँदा जनकपुरधाममा गुठीमातहतका सयौँ जग्गामा अहिले पनि रातारात निर्माण कार्य भइरहेको देखिन्छ । धनेश्वर नगरमै अहिले पनि दर्जनौँ नयाँ घर निर्माण भइरहेका छन् । 

अतिक्रमणमा महन्थ र पुजारीको संलग्नता

जनकपुरधामस्थित अधिकांश मठ मन्दिरका जग्गा महन्थ र पुजारीको संलग्नतामा बिक्री तथा अतिक्रमण गरिएको पाइएको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ । त्यसको मूल्य अर्बौं रुपैयाँ हुन आउँछ । मन्दिर र पोखरीको सहर मानिने जनकपुरधाममा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठुल्ठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य पनि छेकेका छन् । 

यसले गर्दा यहाँका पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौँ बिघा जग्गा बेचिएपछि कति मन्दिर लोप भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुरधाम गुठीलाई आफ्नै जग्गा जोगाउन समेत धौधौ परेको छ । 

गुठी संस्थान शाखा कार्यालय जनकपुरधाममा भएको तथ्यांकअनुसार साविकमा धनुषा जिल्लाका विभिन्न मठमन्दिरको पाँच हजार आठ सय ३५ बिघा १० कठ्ठा १९ धुर जग्गा थियो । ०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभरि अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६ हजार १२९ बिघा २ कठ्ठा १० धुर २ कनमा छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुट्टी, मठमन्दिर, मस्जिद, पोखरीलगायत सार्वजनिक जग्गा÷स्मारकको विवरण पठाउन मालपोत, नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार गरेको वर्षौं बितिसकेको छ । गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ ।

गुठीकै तथ्यांकलाई आधार मान्ने हो भने साविकमा रहेका जग्गा नापीमा झण्डै २९४ बिघाभन्दा बढी बढेको छ । ०४४ देखि ०५१ सालभन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाई बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा ०४६ साल चैत २६ गतेभन्दा पूर्व गुठीको जग्गामा घर बनाई बसेका व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गर्ने प्रावधान रहेको अनुसार लालपुर्जा दिइएको थियो । 

यस ऐनबमोजिम जिल्लाका गुठी जग्गामध्ये तीन हजार ६७३ बिघा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो । जिल्लामा रहेका मठ मन्दिरको दुई हजार चार सय ५६ बिघाभन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । तर, संस्थानका कर्मचारी, मठ मन्दिरका पुजारी तथा महन्थ, प्रशासन, सुरक्षाकर्मी र राजनीतिक दलका नेता तथा भूमाफियाको संलग्नतामा जिल्लाभरिमा अर्बौं मूल्यका सयौं बिघा जग्गा गायव भइसकेका छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका अनुसार हालसम्म ३० बिघा सात कठ्ठा १८ धुर जग्गा अतिक्रमण भएको छ । 

तर, मन्दिरपिच्छे ठहरिएका बस्ती, लाग्ने गरेको बजार, बस पार्क, राजनीतिक दलदेखि विभिन्न संघसंस्थाका कार्यालयले मनमौजी जग्गा हडपेका र किनबेच समेत गरिरहेका छन् ।

पुरातात्विक सम्पदा, मठमन्दिर, सार्वजनिक सम्पत्ति, धार्मिकस्थलको संरक्षण गर्ने जिम्मा सबैको रहेको देखिएको छ । गुठीको जग्गा अतिक्रमण गरेर अहिले यहाँ ठुल्ठूला पक्की संरचना बनिसकेका छन् भने अतिक्रमणले गुठीको जग्गा त घट्यो–घट्यो, मठमन्दिरहरुको अस्तित्वमाथि समेत प्रश्नचिह्न उठेको छ ।

संस्थानले नियुक्त गरेका मठमन्दिरका महन्थ, पुजारी नै जग्गा खरिदबिक्रीमा लागेका छन् । गुठी संस्थानको जग्गाको हकमा रक्षक नै भक्षक भएको देखिन्छ । सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्दै आएका जनकपुरधामका स्थानीय युवा भरत साह भन्छन, ‘यहाँ माफियाको राज छ । मन्दिरदेखि संस्थासम्म सबैमा ब्रह्मलुट मच्चिएको छ । राजनीतिक खोल ओढेर मठमन्दिरको जग्गा भूमाफियाले अपचलन गरेको साहले बताए । 

राजदेवी मठको २७ बिघा नौ धुर जग्गामध्ये नौ बिघा नौ धुर जग्गा अतिक्रमण भइसकेको छ । पाँच वर्षअघि गिरी महन्थको जिम्मेवारीमा आएपछि उनले जग्गा खोज्न थालेका छन् । पहिलाका पुजारी र स्थानीय राजनीतिक दलका नेताले मठको जग्गा अतिक्रमण गराएपछि अहिले बस्ती नै बसेको छ ।

गुठीका जग्गा ठेक्कामा

जनकपुरधामका गुठी अधिनस्थ अधिकांश जग्गा ठेक्कामा लगाइएको छ । एकातर्फ जिल्लाभरिमा अर्बौं मूल्यका सयौं बिघा जग्गा गायब भइसकेका छन् भने अर्कोतर्फ हालसम्म ३० बिघा सात कठ्ठा १८ धुर जग्गा अतिक्रमण भइसकेका छन् । त्यस्तै, अधिकांश जग्गा ठेक्कामा समेत लगाइएको देखिन्छ । जसको कुनै लेखाजोखा नै छैन । 

जनकपुरधाम–२३ बेलाकुट्टीस्थित रामजानकी दुल्हा दुल्हिन भगवान मन्दिरको कित्ता नम्बर ३०९ मध्ये १ बिघा ११ कठ्ठा १० धुर जग्गा पाँच वर्षका लागि विश्व भारती फाउण्डेसन, सोही कित्तामध्येबाट पाँच बिघा १० कठ्ठा ३८ वर्षका लागि गजेन्द्र नारायण स्मृति प्रतिष्ठान र चार बिघा जनकपुर अञ्चल बस व्यवसायी संघलाई ०८० पुस मसान्तसम्मका लागि ठेक्कामा दिइएको देखिन्छ । 

त्यस्तै, जानकी मन्दिर अधिनस्थ रहेको जनकपुरधाम–१८ स्थित भोयल मठको जग्गाबाट ३२ बिग्हा १० कठ्ठा १६ धुर २० वर्षका लागि जनकपुरधाम उपमहानगरपालिकाले, जनकपुरधाम–३ स्थित लक्ष्मण मन्दिरको वडा नम्बर–१४ स्थित विभिन्न कित्ताको क्षेत्रफलबाट १६ बिग्हा १७ कठ्ठा १९ धुर १ कनमा ३० वर्षका लागि राष्ट्रिय खेलकुद परिषद्ले, राम मन्दिर अधिनस्थ जनकपुरधाम–४ स्थित कित्ता नम्बर ३६ को पाँच कठ्ठा तीन धुरमध्ये १० धुर २५ वर्षका लागि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति धनुषाले, रत्नसागर गुठीको जनकपुरधाम–१४ स्थित विभिन्न कित्ता नम्बरको १६ बिघा १७ कठ्ठा १९ धुर ४९ वर्षका लागि मणिपाल एजुकेसन मेडिकल ग्रुपले ठेक्कामा लिएको देखिन्छ । 

राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर १ मध्ये दक्षिणतर्फबाट दुई कठ्ठा पाँच धुर १० वर्षका लागि मिथिला नाट्यकला परिषद्लाई, राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ४११ मध्येबाट ४ कठ्ठा १९ धुर ४ कनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई, राम मन्दिर गुठीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ४९ को १३ कठ्ठा १२ धुर २ कनमा जग्गाबाट ४ कठ्ठा रामनारायण मिश्र चिन्तन प्रतिष्ठानलाई, बसही कुट्टीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर तीन सय १८ मध्येबाट ६ बिघा ३ कठ्ठा १५ धुर जनक हजारी विद्यापीठलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ९५ को १ कठ्ठा १९ धुर १ कनमा मध्ये उत्तर पूर्वतर्फबाट १५ धुर जग्गा ०७३ चैत ६ गते भएको सम्झौताबमोजिम निर्माण गर्ने र द्वितीय पक्षले पाँच वर्षभित्र संग्रहालय निर्माण गरी प्रथम पक्षलाई हस्तान्तरण गर्ने सर्तमा मिथिला कला तथा संस्कृति संग्रहालय निर्माणका लागि प्रदान गरिएको थियो । 

त्यस्तै, जानकी मन्दिरको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ५८ को सात कठ्ठा मध्ये पाँच कठ्ठा पाँच धुर १० वर्षका लागि राजर्षि जनक पतञ्जली योग साधना केन्द्रलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित आठ कठ्ठा दुई धुर २० वर्षका लागि राजर्षि जनक क्याम्पसलाई, जानकी मन्दिरको जनकपुरधाम–६ स्थित १४ कठ्ठा दुई धुर तीन कनमामध्ये दक्षिणतर्फबाट पाँच कठ्ठा १६ धुर १५ कनमा २५ वर्षका लागि राधामाधव समितिलाई ठेक्का दिइएको छ । 

व्यक्ति विशेषलाई पनि ठेक्का

गुठीका बिघौँबिघा जग्गा व्यक्ति विशेषलाई पनि ठेक्कामा दिइएको देखिन्छ । इटहर्वा मठको इटहर्वा–३ स्थित कित्ता नम्बर १६३ को सात बिघा १२ कठ्ठा १४ धुर ८ कनमा जग्गा १० वर्षका लागि सोही ठाउँ बस्ने कृष्णकुमार चौधरी, जानकी मन्दिरको जनकपुरधाम–११ स्थित कित्ता नम्बर २१ बाट १२ धुर १५ वर्षका लागि विश्वनाथ मिश्र भन्ने सियाराम दास, राम मन्दिर अधिनस्थ रहेको सखुवा, हरकरवा, हात्तीसार, जलाडी निकास बिर्ता, औराहा दिगम्बरपुरको विभिन्न कित्ताबाट १४८ बिघा जग्गा ०७३ कात्तिक ११ देखि लागू हुनेगरी ०८३ कातिक १० सम्मका लागि दिगम्बरपुर–२ बस्ने राजेश महतो र राम मन्दिर बिरख कुट्टी अधिनस्थ रहेको सुगामधुकरही, चक्कर, पौडेश्वर मौजाको विभिन्न कित्ताबाट १२७ बिघा १० कठ्ठा सात धुर ०७३ मंसिर ५ देखि लागू हुनेगरी ०८३ मंसिर ४ सम्मका लागि सुगानिकास–८ बस्ने वरुणप्रसाद मण्डललाई मनोमानी रूपमा ठेक्का लगाइएको पाइएको छ । 

त्यस्तै, सीता कुण्डको जनकपुरधाम–८ स्थित कित्ता नम्बर १२ को दुई बिघा दुई कठ्ठा १४ धुर ११ कनमा ०७६ असार २४ देखि लागू हुनेगरी पाँच वर्षका लागि दीपनारायण साहले सञ्चालन गरेको जनकपुर ड्राइभिङ प्रशिक्षण केन्द्र र सीताकुण्डकै जनकपुरधाम–८ स्थित कित्ता नम्बर ९ को १५ कठ्ठा दुई धुर तीन कनमा मध्येबाट १५ कठ्ठा जग्गा ०७६ असार २४ देखि लागू हुनेगरी पाँच वर्षका लागि मोहनप्रसाद यादवले सञ्चालन गरेको एपी कन्स्ट्रक्सनलाई लिजमा दिइएको देखिन्छ । 

५२ कुट्टी र ७२ कुण्डको नामले प्रख्यात जनकपुरधामका ऐतिहासिक एवं पौराणिक महत्वका सम्पदाहरुको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।

भूमाफियाको संलग्नता र विभिन्न मन्दिरका महन्थको व्यक्तिगत स्वार्थका कारण यहाँका ऐतिहासिक सम्पदा दिन–प्रतिदिन अतिक्रमणको चपेटामा परिरहेका छन् । यस सहरभित्रका अमृत कुण्ड, जनक सरोवर, बलदेव सर, गोपाल सर, धोवियाही पोखरी, पापमोचनी सर, पयश्विनी सरजस्ता दर्जनौँ पोखरीको अस्तित्व लोप भइसकेका छन् ।
 

  • प्रकाशित मिति : असार १३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया