logo-img

बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरूले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् ।आम जनता बैंकहरूबाट ऋण नपाएपछि मिटरव्याजीहरूको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताए । 

उनले भने, ‘देशको पुँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानीजानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण गर्‍यो ? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ । गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन ? त्यस कारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश एउटा महल बनाउने विवश बनाई दिने राज्यको निकाय र ती बैंक सञ्चालकहरू के गरेर बसिराखेका छन् ? मान्छेले सहज ढंगले बैंकबाट ऋण पायो भने यस्ता खालका कथाको जरुरत पर्दैन । मान्छेले ऋण नपाएर बाध्य भएर ठगिन पुगिराखेका छन् ।’

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकहरुबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाई दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले गरिब जनताबाट निक्षेप सङ्कलन हुने तर केही मुठीभर मानिसहरूले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको बताए ।

उनले भने, ‘आम जनताका ऋण नपाएर ठगिनुपर्ने । हामी हेरिराखेको छौँ । निक्षेप पुँजी बढ्यो बैंकरहरु खुसी छन् । तर त्यो निक्षेप पुँजीको भाग जनताले पाउनु पर्छ कि पर्दैन ? जनताले त्यहाँ त्यो ऋण पाउने अधिकार राख्छ कि राख्दैन ? मुठीभर मान्छेले पाउने तर आम जनता निरीह भएर, लाचार भएर ठगिनुपर्ने परिवेशलाई पनि ध्यानमा राखेर गरिनु पर्दथ्यो ।’ 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १५:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया