धनुषा जिल्ला प्रशासनमा बिचाैलियाकाे बिगबिगी, यसरी हुन्छ पैसाको बार्गेनिङ

सोमबार दिउँसो करिब २ बजेको समयमा जिल्ला प्रशासन कार्यालय धनुषाको झ्यालअगाडि सयौं सेवाग्राहीको भीड थियो । लाइनमा उभिएर नागरिकता फाँटका कर्मचारीलाई ‘सर... सर...’ भन्दै बोलाइरहँदा कर्मचारीले भने उनीहरुको कुरा नै सुनिरहेका थिएनन् । 

रिर्पोटिङका क्रममा त्यहाँ पुगेका हामीले लाइनमै उभिएका एकजना सेवाग्राहीलाई बाहिर बोलाएर उनको समस्याबारे सोध्यौँ । 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–७ बस्ने धनिकलाल महतोले आफू गत शुक्रबारदेखि नै यहाँ नियमित दौडिरहेको सुनाए । उनी आफ्नो जन्मसिद्ध नागरिकता बनाउन नियमित दौडधुप गरिरहेका थिए । तर, उनको काम कर्मचारीले गर्न मानिरहेका थिएनन् । आफूसँग नागरिकता प्राप्त गर्न आवश्यक सम्पूर्ण प्रमाण हुँदाहुँदै पनि कर्मचारीले विभिन्न बहाना बनाएर काम गर्न नमानिरहेको गुनासो पोखे । 

‘कर्मचारीले भनेको सबै मुचुल्का र कागजात लिएर आएको छु । तर,  काम गर्दिंदैनन्,’ उनले भने, ‘सिडियोलाई भन्दा 'फाँटमा जानुस् काम भइहाल्छ' भन्नुहुन्छ तर यहाँ गरदिँदैनन् ।’

उनीसँग कुरा गरिरहँदा अर्का सेवाग्राही पनि आफ्नो समस्या सुनाउन हामी नजिक आइपुगे । मिथिला नगरपालिका वडा नम्बर–८ कुसुमबिसौना बस्ने सुदीपकुमार महतोले आफूले नाता प्रमाणित र बसोवाससम्बन्धी सम्पूर्ण प्रमाण संकलन गरेर ल्याइसकेको अवस्थामा पनि कर्मचारीले सो कागजात फेरि ल्याउन भनिरहेको बताए । आफू विगत तीन दिनदेखि जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन दौडधुप गरिरहेको उनको दुःखेसो थियो । 



‘मागेको जति सबै कागजात ल्याएको छु, तर कर्मचारीले काम गरिदिएनन् । यो मिलेन, त्यो मिलेन भन्दै फर्काउँछन्,’ उनले भने, ‘सुरुमै एउटा दलालले पैसा दिन्छौँ भने एकै दिनमा काम गराइदिन्छु भनेको थियो । मैले दिइनँ ।’



‘मागेको सबै कागजात बुझाएर दौडेको दौड्यै छु, तैपनि कर्मचारीले काम गरदिँदैनन्,’ उनी भन्छन्, ‘घुस लिन बिचौलियामार्फत काम गराउन खोज्छन् । बिचौलियामार्फत जानेको काम फटाफट हुन्छ ।’

यसरी हुन्छ पैसाको बार्गेनिङ

सुदीपले कार्यालयबाहिर बिचौलियाको बिगबिगी रहेको र उनीहरुको माध्यमले काम गराउन लगाउँदा केहीबेरमै काम हुने गरेको सुनाए । उनले सो कुरा दाबीका साथ बोलेपछि हाम्रो मनमा पनि यहाँ बिचौलियाको माध्यमले काम हुन्छ कि ? भन्ने शंका उब्जियो । हामी बिचौलियालाई खोज्न सुरु गर्यौं । सुदीपले हामीलाई एकजना बिचौलियाको काम गर्ने व्यक्तिको मोबाइल नम्बर पनि उपलब्ध गराए । उनले उपलब्ध गराएको मोबाइल नम्बर ९८१६७८८८१० मा फोन गर्यौं, फोन उठ्यो ।

‘मलाई मेरो भाइको नागरिकता बनाउनुपर्नेछ, यहाँ कार्यालयमा आएको छु । एकजना दाइले तपाईंको नम्बर मलाई दिनुभएको थियो । म धेरै दिनदेखि दौडधुप गरिरहेको छु, कृपया मेरो भाइको नागरिकता बनाउन लगाइदिनुस् न’ भनेपछि उनले 'हुन्छ तपाईं कदमचोक आएर कुरा गर्नुस्' भन्दै फोन काटे । 

फेरि सुदीपले पनि सोही नम्बरमा फोन गरे । सुदीपलाई उनले गंगासागर घाटमा आउन भने । सुदीप त्यहाँ पुगेपछि ती बिचौलियाले उनीसँग पैसाको बार्गेनिङ गरे । सुदीपलाई उनले 'नागरिकता बनाउनु छ भने यसमा धेरै झन्झटिलो प्रक्रिया छ, तपाईंले २५ हजार रुपैयाँ तिर्नुपर्छ' भन्दै बार्गेनिङ गरे । 

सुदीपले काम गरिदिन पटकपटक आग्रह गरे । तर उनले सोभन्दा कम नहुने र काम गराउनु छ भने चाँडो पैसा लिएर आफूसँग फेरि सम्पर्क गर्न भन्दै त्यहाँबाट निस्के । 

केहीबेरमै सो नम्बरबाट फेरि सहकर्मीको नम्बरमा फोन आयो । उनले तपाईंलाई नागरिकता बनाउनुपर्ने छ भने छिटो कदमचोक आएर मसँग भेटनुस् भन्दै फोन काटे । 

त्यसपछि हामीले यसको तहसम्म जाने प्रयास गर्यौं । धेरैबेर जिल्ला प्रशासन कार्यालयमै समय बितायौँ । हामीलाई कैयौं सेवाग्राहीले आ–आफ्नो समस्या सुनाउन थाले । सबैको प्रायः एउटै गुनासो थियो । यहाँ आफैँ घण्टौँ लाइनमा उभिएर काम गराउन सहज छैन, त्यसको लागि बिचौलियामार्फत नै आउनुपर्छ ।


 
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता बनाउनका लागि सबै प्रमाण जुटेको खण्डमा पनि १० देखि १५ हजार रुपैयाँसम्म माग्ने गरेको सेवाग्राही धनुषाको बटेश्वर गाउँपालिका बस्ने मनोहर महतोले बताए । उनले बिचौलियामार्फत कर्मचारीदेखि प्रमुख जिल्ला अधिकारीसम्म पैसा पुग्ने गरेको दाबीसमेत गरे ।
 
पसल थापेरै बिचाैलिया धन्दा 

जिल्ला प्रशासन कार्यालयसँगै रहेको भवनकाे सडकपट्टि चारवटा सटर छन् । ती सबै सटरमा फोटो स्टुडियो र फोटोकपी मेसिन राखेर व्यवसाय सञ्चालन भइरहेको छ । त्यहाँ गौरी फोटो स्टुडियोका रामभरोस मण्डल, अलिसा डिजिटल स्टुडियोका वीरेन्द्र चौधरी, एमके स्टुडियोका राजेश साह र दीपक फोटोकपीका जिवछ साहलगायत शंकर पासवान र प्रदीप महतोहरु मिलेर नागरिकता बनाउन आउने सेवाग्राहीसँग पैसाको बार्गेनिङ गर्दै आएको स्रोतको दाबी छ ।
 
बिचौलियाले सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेर संकलन गरेका कागजात जिल्ला प्रशासनका कार्यालय सहयोगी भक्तबहादुर भुजेल र अन्य दुईजना बिचौलिया कपिलेश्वर महतो एवं जितेन्द्र यादवमार्फत कर्मचारीको टेबलसम्म पुर्याइन्छ ।
 
स्रोतले भन्यो, ‘आफ्नो काम आफैँ गराउन पुगेका सेवाग्राही घण्टौँ लाइनमा उभिए पनि उनीहरुको काम एक दिनमा पनि हुँदैन । तर, बिचौलियामार्फत कर्मचारीको टेबलसम्म पुगेका कागजातको काम एकछिनमै सम्पन्न हुन्छ । यस कार्यमा सुब्बाहरु सुनिल साह र ब्रह्मदेव यादव तथा उनीहरुका सहयोगी मिथिलेश ठाकुरको संलग्नता रहन्छ ।’

ती कर्मचारीले नै नागरिकता शाखाका प्रशासकीय अधिकृतहरु किरणकुमार मिश्र, यमनसुन्दर श्रेष्ठ र सिंहलाल स्याङवाको टेबलसम्म बिचौलियामार्फत आएका कागजात पुर्याउने गरेको स्रोतको दाबी छ । यस कार्यमा तलदेखि माथिसम्मका सबै कर्मचारीको संलग्नता रहेको बताइएको छ । 

सेवाग्राहीका अनुसार नागरिकता प्रमाणपत्र बनाउने, प्रतिलिपि निकाल्ने, राष्ट्रिय परिचयपत्र बनाउनेजस्ता काममा कर्मचारीले कुनै न कुनै अड्को थाप्छन् । तर, केही पैसा दिएमा अड्को फुकाएर काम गराइदिने भन्दै बीचमै बिचौलियाहरू आइपुग्छन् ।

यता, प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भने गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । उनले कार्यालयमा बिचौलियाको बिगबिगी देखिए समातेर कारबाही गरिने दाबीसमेत गरेका छन् । तर, जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीले जति नै हैरानी व्यहोर्नु परे पनि कुनै कर्मचारीमाथि अहिलेसम्म कुनै कारबाही गरिएको देखिएकाे छैन ।

  • प्रकाशित मिति : असार १८, २०८० साेमबार १९:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया