logo-img

निजी अस्पतालमा भयावह रूपमा बढ्दै ‘सी–सेक्सन’ प्रसूति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार नेपालमा पाँचमध्ये एक महिलाले शल्यक्रियाबाट बच्चा जन्माउने गरेको तथ्यांक छ । जसअनुसार सरकारी अस्पतालका तुलनामा निजी अस्पतालमा तीन गुणा बढी शल्यक्रिया गर्ने गरिएको छ । यस शल्यक्रियालाई सी–सेक्सनको रूपमा पनि चिनिन्छ । यो आपतकालीन समयमा गरिने सर्जिकल डेलिभरी प्रक्रिया हो । 

युएसएआइडीको प्राविधिक तथा आर्थिक सहयोगमा गत वर्ष जनवरी ५ देखि जुन २२ सम्म गरिएको राष्ट्रव्यापी अध्ययनको अन्तिम प्रतिवेदनले सर्वेक्षण अघिका दुई वर्षमा १८ प्रतिशत जीवित वा मृत शिशुहरू सी–सेक्सनमार्फत जन्माएको देखाएको छ । 

प्रतिवेदनले निजी अस्पतालमा ५१ प्रतिशतको तुलनामा सार्वजनिक क्षेत्रका स्वास्थ्य संस्थामा १५ प्रतिशत शिशु सी–सेक्सनबाट जन्माएको देखाएको छ । काठमाडौं उपत्यकालगायत ठूला शहरका केही निजी अस्पतालमा सी–सेक्सन प्रसूतिदर ९० प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । 

उनीहरूका अनुसार केही रेफरल अस्पतालमा ३५ प्रतिशत सी–सेक्सन डेलिभरी दर छ । दुर्गम गाउँहरूबाट रिफर भई आउने केसहरूले सहरका अस्पतालमा सी–सेक्सनदर बढाएको हो । सी–सेक्सनमार्फत जन्मिएको प्रत्यक्ष जन्मको अनुपात निरन्तर बढ्दै गएको छ । सी–सेक्सनबाट बच्चा जन्माउने दर सन् १९९६ मा एक प्रतिशत थियो भने २०१६ मा १० प्रतिशत र २०२२ मा १८ प्रतिशत रहेको तथ्यांक छ । 



अध्ययनहरूले सी–सेक्सनमार्फत डेलिभरीहरू ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा (२२ प्रतिशत) बढी रहेको देखाएको छ । प्रतिवेदनका अनुसार अशिक्षित महिलाको तुलनामा शिक्षित महिलाहरूले सी–सेक्सन प्रसूति बढी गर्ने गरेका छन् । शिक्षा हासिल नगरेका ८ प्रतिशत, प्राथमिक शिक्षा हासिल गरेका १३ प्रतिशत, माध्यमिक शिक्षा हासिल गरेका २३ प्रतिशत र माध्यमिक शिक्षाभन्दा माथि शिक्षा हासिल गरेका ४८ प्रतिशत महिलाले सी–सेक्सनद्वारा प्रसूति गरेका छन् । 

के हो सी–सेक्सन ? 

सी–सेक्सन दुई प्रकारको हुन्छ । एउटा, इलेक्ट्रिक सी–सेक्सन अर्को, इमरजेन्स सी–सेक्सन । व्यथा लाग्नुभन्दा पहिले नै वा बच्चा जन्मने मिति आइपुग्नुभन्दा पहिले नै आमाले सामान्य रूपमा बच्चा जन्माउन नसक्ने यकिन भइसकेपछि गरिने शल्यक्रियालाई इलेक्ट्रिक सी–सेक्सन भनिन्छ । 

यस्तै, विना शल्यक्रिया प्रसूति गराउने प्रयास गर्दागर्दै पनि बीचमा केही कारणवश शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थालाई इमरजेन्सी सी–सेक्सन भन्ने गरिएको भेरी अस्पताल, नेपालगन्जमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले जानकारी दिए । उनका अनुसार लामो समयसम्म आमालाई व्यथा लागे पनि बच्चा जन्माउन नसकेको अवस्थामा यो शल्यक्रिया गरिन्छ । 



व्यथा लाग्दालाग्दै बच्चाको धड्कन तल वा माथि भयो वा परीक्षण गर्दा बच्चाले पेटमै दिशा गरेको देखियो भने पनि इमर्जेन्सी सी–सेक्सन गरिने उनले बताए ।  

बढ्यो निजीमा सी–सेक्सन?

नर्मल डेलिभरी गर्नु भनेको लामो प्रोसेस हो । यसमा पहिलोपटक बच्चा पाउँदा २४ देखि ३६ घण्टा लाग्छ भने दोस्रो बच्चा जन्माउँदा २४–२५ घण्टाको लामो प्रक्रिया पार गर्नुपर्ने हुन्छ । यसमा स्वास्थ्यकर्मीले नजिकबाट निगरानी (क्लोज मोनिटरिङ) गर्नुपर्छ । 

स्वास्थ्यविज्ञका अनुसार डेलिभरीको समयमा आमा र बच्चालाई नजिकैबाट हेर्नुपर्छ । १५–१५ मिनेटमा आमालाई अवलोकन गरिरहुनपर्ने र औषधिको मात्रा पनि आधा–आधा घण्टामा मिलाइरनुपर्छ । यससँगै बच्चाको धड्कन पनि बेलाबेला परीक्षण गरिरहनुपर्छ । त्यस्तो अवस्थामा निजी अस्पतालमा समय, जनशक्तिको कमी तथा समय मिलाउन नसक्दा सी–सेक्सन बढी गरिने डा. सुवेदी बताउँछन् । 

‘नर्मल डेलिभरीमा कहिलेकाहीँ जोखिम हुन सक्छ । नर्मल हुन्छ भन्दाभन्दै अकस्मात् बच्चाको धड्कन तल वा माथि भइदिन सक्छ । जसले गर्दा शल्यक्रिया गर्न एक मिनेट पनि ढिला गर्दा बच्चालाई जोखिम हुन सक्छ,’ डा. सुवेदी भन्छन्, ‘जोखिम कति लिने भन्ने अवस्थामा निजी अस्पतालले जोखिम मोल्न चाहँदैनन् । हिजोआज उत्तेजित भिडलाई सम्झाउन गाह्रो हुन्छ भन्ने हिसाबले समयमै शल्यक्रिया गरियो भने बच्चा र आमालाई जोखिममुक्त गराउन सकिन्छ भनेर पनि सी–सेक्सन गर्ने गरिन्छ ।’  

शल्यक्रिया गर्ने अवस्था छ भने किन सरकारीमा गएर पालो कुर्ने भन्ने मनसायले पनि निजीमा सी–सेक्सन गर्नेको संख्या बढी देखिएको उनको भनाइ छ । 

यस्तै, धैर्यताको कमी, लामो समयसम्म व्यथा खप्न नसकेका कारण पनि सी–सेक्सनदर बढ्दै गएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए । 

‘हिजोआज गर्भवती महिला तथा परिवारका सदस्यमा धैर्यको कमी देखिन्छ । गर्भवतीलाई व्यथाले च्याप्दै गएपछि पीडा खप्न नसक्दा सी–सेक्सन गरिदिन आग्रह गर्छन्,’ डा. अधिकारीले भने, ‘तर, सरकारी अस्पतालमा हामीले काउन्सिलिङ गरेर भए पनि जतिसक्दो नर्मल डेलिभरी गराउने प्रयास गरिरहेका हुन्छौँ । सोही प्रयास निजीमा नभएका कारण निजीमा सी–सेक्सनदर बढ्दै गएको छ ।’   

सी–सेक्सनको सेवा–सुविधा जहाँ छ, त्यहाँ सी–सेक्सन हुनु सामान्य हो । ग्रामीण भेगमा सी–सेक्सनको सुविधा हुँदैन । सोही कारण सी–सेक्सनदर सहरमा बढी भएको स्वास्थ्यविज्ञहरूको भनाइ छ ।  

डा. सुवेदीका अनुसार सी–सेक्सन भनेको मेजर शल्यक्रिया नै हो । धेरै सी–सेक्सन हुन थाल्यो भन्दैमा यसलाई सामान्य रूपमा लिनुहुँदैन । शल्यक्रिया हुनेबित्तिकै आमालाई कम्तीमा दुई–तीन दिन अस्पतालमा राख्नुपर्छ । शल्यक्रिया गरिसकेपछि रक्तश्राव हुने, घाउमा इन्फेक्सन, धेरै दिन बेडरेस्ट गर्दा खुट्टामा रगत जम्ने, निमोनिया हुने, आमालाई कमजोर महसुस हुनेलगायत स्वास्थ्य समस्या देखिने हुँदा गर्भवती महिलालाई धैर्य कायम गरी नर्मल डेलिभरीमा जोड दिन उनले सुझाए ।

‘सी–सेक्सन गर्नुपर्ने अवस्थामा गर्नुपर्छ । तर, हिजोआज यो क्रम बढेको देखिन्छ,’ डा. सुवेदीले भने, ‘किनभने जोखिम मोल्नसक्ने क्षमता बिरामी र चिकित्सकमा कम हुँदै गएको छ ।’ डेलिभरीको समयमा आमा वा बच्चालाई केही भइदियो भने धेरै हो–हल्ला हुने, चिकित्सकमाथि हातपात, अस्पतालमै तोडफोडका हुनेजस्ता घटना घट्छन् । सोही कारण पनि सी–सेक्सन बढिरहेकाले यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

विज्ञहरूका अनुसार सी–सेक्सनले भयावह रूप लिइरहेको छ । त्यसैले सरकारले समयमै यसतर्फ ध्यान पुर्याउन आवश्यक रहेको उनीहरूको तर्क छ । स्वास्थ्य क्षेत्रमा देखिएका जटिलतालाई सरकारले समयमै ध्यान दिएर व्यवस्थापनतिर ध्यान दिनसके भविष्यमा हुने जोखिमबाट धेरै हदसम्म बच्न सकिने स्वास्थ्यविद्हरूको भनाइ छ । 

  • प्रकाशित मिति : असार १८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया