कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।  

जिल्लाका १३ वटै स्थानीय तहका १ सय २६ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

उनका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोप सबै बालबालिकाले पूर्णरुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि कैलालीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । उनले कैलालीलाई सर्वप्रथम २६ मंसिर २०७४ मा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएकोमा २०७८ वैशाख मसान्तमा जिल्लाका १० स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताए ।

यसैगरी, ३१ असार २०७९ मा पूर्ण खोप सुनिश्चित घोषणा गरिएकोमा यो वर्ष असार २६ सम्म सबै पालिका र बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको निमित्त प्रमुख धामीले जानकारी दिए । नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरेको जनाइएको छ । 

कैलालीमा ३ सय ४७ खोपकेन्द्र, तीन सय ८१ खोप सेसा, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३६ वटा स्वास्थ्यचौकी, ८५ वटा आधारभूत स्वास्थ्य केन्द्र, १२ वटा सामुदायिक स्वास्थ्य एकाइ, १ हजार २ सय ६१ महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।  





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार २१:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया