logo-img

अब लट्ठी र बन्दुक बोकेर मात्र प्रहरीले जस पाउँदैन : आइजिपी कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई वृहत् बनाउन जरुरी रहेको बताएका छन् ।

सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई वृहत् बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

शुक्रबार काठमाडौंमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एन्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारे । उनले द्वन्द्वपछिको संक्रमणकालिन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणका लागि कोशेढुंगा सावित हुने बताए । ‘आफ्नो स्थापना कालदेखि हालसम्म नेपाल प्रहरी यो देशका हरेक संघर्ष र परिवर्तनको साँची रहेको छ । यी परिवर्तनहरूले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन,’ उनले भने, ‘सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नु पर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाइको दायरालाई वृहत् बनाउन जरुरी छ । विशेषतः द्वन्द्व उप्रान्त संक्रमणकालिन समाजमा नेपाल प्रहरी लगायतका सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सामना गर्नु परिरहेको अप्ठ्यारोको सामना र समाधान गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि समस्या र विषयवस्तुलाई केवल सुरक्षाको निकायको दृष्टिकोणले मात्र सीमित नरही एक सामान्य नागरिकको दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने बताए ।     





  • प्रकाशित मिति : साउन ५, २०८० शुक्रबार १७:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया