logo-img

वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियो : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् । 

अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरूलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्त्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको बताएका हुन् । 

‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले  आफूहरू र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए । नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘हाम्रो जीवन वास्तवमा धेरै आन्दोलनमा बित्यो । व्यवस्था परिवर्तनका लागि बित्यो । हामीले निरंकुशताका अनेक जन्जालहरूलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौं । यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो । तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौं । रुमलिएका छौं । यसकारण यो रुमलिएकोलाई युवाहरूले चिर्नु हुनेछ । र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरूको काँधमा छ । यहाँहरूले भविष्यमा नेतृत्व गर्नुहोस् ।’

अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूको सिको गर्दै हुने आपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृत युक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहं सवाल रहेको समेत बताए । उनले युवा पुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘विश्वको एउटा कुनामा भएको सकारात्मक र नकारात्मक प्रभाव अर्को कुना तत्क्षण पर्दछ । तसर्थ आजको नवयुवाहरुमा विश्वको कुनै पनि भूभागमा हुने नकारात्मक कार्यको प्रभाव नपरोस् भन्ने कुरामा हामी सचेत हुन जरुरी छ । खास गरी लागू पदार्थलगायतका दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सिको गर्दै हुने आपराधिक गतिविधि र मानवता र प्रकृतिबिरोधी क्रियाकलापहरूबाट मुक्त, सुसंस्कृत युक्त सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहं सवाल हो भन्ने मलाई लाग्दछ ।’



अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भूमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताए ।  



  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया