logo-img

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालमा हाल मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय पनि सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार न्यूनचापीय प्रणाली र नेपालनजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि देशका विभिन्न भू–भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम वर्षा हुने सम्भावना छ ।  

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । महाशाखाले वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावा हुरी जस्ता प्रकोप हुनसक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 






  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया