logo-img

मनसुन थप सक्रिय, अझै केही दिन वर्षा हुने

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । 

नेपालमा मनसुनी वायुको असरका साथै बंगलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ । 

‘मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ  तर लगातारको वर्षा भने हुने देखिँदैन’, मौसमविद् महर्जनले भनिन् । काठमाडौं उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । 

मङ्गलबार बिहान काठमाडौंमा भारी वर्षा भएको  थियो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

अहिले काठमाडौंको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 



बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । रासस 
 



  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया