logo-img

कानुन तोडमोड गरेर निर्दोषलाई दोषी बनाउन खोजिँदै छ : डा. शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन् । 

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे । 

‘नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन,’ उनले भने, ‘पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदै छ ।’

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पछिल्लो समय सार्वजनिक प्रशासनमा जनताप्रतिको विश्वास खस्कँदै गएको बताए । ‘सुशासनको बाधक भ्रष्टाचार हो, भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा सुशासन कायम हुन सक्दैन, मुलुकमा सुशासन कायम गर्न उच्च तहका व्यक्ति लाग्नुपर्छ,’ उनले भने । 

पूर्वमुख्यसचिव पौड्यालले अहिले नेपाल सामाजिक, आर्थिक, राजनीतिक समस्याको भुमरीमा परेको बताए । मुलुकमा सुशासन निर्माण गर्नका लागि राजनीतिक उच्च तहको व्यक्ति सप्रिनुपर्ने उनको भनाइ थियो । सुशील कोइराला भ्रष्टाचारविरोधी र नेपाली राजनीतिका श्रद्धा गर्न लायक नेता भएको उनले बताए । 

संविधानविद् डा. भीमार्जुन आचार्यले पछिल्लो समय राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमाथिको काम कारबाहीको निष्पक्षतामा प्रश्न उठ्न थालेको बताए । 



संविधानमा न्यायपालिकालाई स्वतन्त्र रूपमा राखिए पनि न्यायालयमा जाने पात्र राजनीतिक दलबाट जाँदा न्याय सम्पादनमा समेत प्रश्न उठाउन सकिने अवस्था आएको उनले बताए । 

‘राजनीतिक दलको लेटरहेडमा न्यायाधीश नियुक्तिको लागि सिफारिस पठाउँदा न्यायालय कसरी स्वतन्त्र हुन सक्छ,’ उनले प्रश्न गरे । शक्ति प्रदर्शन गर्ने निकाय भ्रष्ट हुँदा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाइ थियो ।



पूर्वमन्त्री रेवती भुसालले लोकतन्त्रलाई बलियो बनाउन सकेमात्र मुलुकमा सुशासन कायम हुनसक्ने बताए । ‘सुशासन राजनीतिबाट सुरु हुन्छ, राजनीति राम्रो भयो भने कर्मचारी र अन्य निकायमा सुशासन कायम हुन सक्छ,’ उनले भने । 

फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले सुशील कोइरालाले बोकेका विचार र उनको जीवनीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि फाउन्डेसनले काम गरिरहेको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।
 

  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया