logo-img

विश्वकपमा आज इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै, जित्ने टिम पहिलोपटक फाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलियाले इंग्ल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको सेमिफाइनल प्रतिस्पर्धा नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सिड्नीमा सुरु हुनेछ ।   

अस्ट्रेलिया घरेलु मैदानको फाइदा उठाउँदै पहिलोपटक फाइनलको यात्रा गर्न चाहन्छ ।

मटिलडासको उपनामबाट चिनिने अस्ट्रेलियाको सेमिफाइनल यात्रा निकै तनावपूर्ण रह्यो । ब्रिसबेनमा सोल्ड आउट क्राउडको अगाडि अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा हरायो । 

खेलको विजेता निर्णय हुन २० पेनाल्टी प्रहार गर्नुपरेको थियो । अस्ट्रेलिया गोलकिपर माकेन्जी आर्नोल्डका लागि सुटआउट उतारचढावपूर्ण रह्यो । फिफा वरियतामा १२औँ स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनल खेल्नेमध्ये सबैभन्दा तल्लो वरियताको टिम हो । 



गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इंग्ल्याण्ड घरेलु टोली अस्ट्रेलियालाई स्तब्ध पार्दै उपाधि नजिक पुग्न चाहन्छ । प्रशिक्षक सरिना विघमनलाई राम्रोसँग थाहा छ कि टिमले सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियासँग खेल्दैछ ।

अन्तिम १६ को खेलमा रातो कार्ड पाएकी इंग्लिस स्टार लाउरेन जेम्सले दुई खेलको निलम्बनका कारण अस्ट्रेलियाविरुद्धको खेल पनि गुमाउनेछिन् । हाल फिफा वरियताको चौथो स्थानमा रहेको इंग्ल्याण्डले लगातार तेस्रोपटक सेमिफाइनल खेलिरहेको हो । उसले अहिलेसम्म फाइनल खेलेको छैन ।



यसपटक भने इंग्ल्याण्ड उक्त मौका गुमाउन चाहँदैन । आजको विजेताले उपाधिका लागि स्पेनको सामना गर्नेछ ।

स्पेन मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई २–१ ले स्तब्ध पार्दै पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनलमा पराजित टिमले तेस्रो स्थानका लागि स्वीडेनसँग खेल्नेछ ।

  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार ७:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया