logo-img

विश्वकपमा फेरिएको स्पेन, चकित पार्दै फाइनलको यात्रा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जारी संस्करणको फिफा महिला विश्वकप फुटबल सुरु हुँदा स्पेनलाई दाबेदार टोलीको रूपमा हेरिएको थिएन । विगत सुखद नभएकाले पनि स्पेनमाथि खेल विश्लेषक र समर्थकले विश्वास गरेका थिएनन् । तर, मंगलबार सबैलाई चकित पार्दै स्पेनले फाइनलको टिकट हात पार्‍यो ।

न्यूजिल्याण्डको इडेन पार्कमा भएको पहिलो सेमिफाइनलमा पूर्व उपविजेता स्वीडेनलाई २–१ ले स्तब्ध पार्दै स्पेनले फाइनलको टिकट पक्का गरेको हो । स्पेनको ऐतिहासिक जितमा साल्मा पारा लुएलो र ओल्गा कारमोनाले १/१ गोल गरे ।    



जारी विश्वकपको समूह चरणमा पनि स्पेनको सुरुवात राम्रो थियो । उसले पहिलो खेलमा कोस्टारिकालाई ३–० र दोस्रो खेलमा जाम्बियालाई ५–० ले हरायो । तेस्रो खेलमा भने स्पेन पूर्वविजेता जापानसँग ४–० ले पराजित हुन पुग्यो । हारबाट पाठ सिकेको स्पेनले त्यसपछि भने फर्केर हेर्नु परेन । 

जापानसँगको हारपछि प्रशिक्षक जोर्गे भाल्डाले टिममा व्यापक परिवर्तन गरे । उनकै चुस्त रणनीतिमा प्रि–क्वार्टरफाइनलमा स्पेनले स्वीटजरल्याण्डविरुद्ध ५–१ को प्रभावशाली जित निकाल्यो । यस्तै, उसले क्वार्टरफाइनलमा गत संस्करण उपविजेता नेदरल्याण्ड्सलाई २–१ ले स्तब्ध पार्‍यो । 



यसअघि स्पेन सुरुवाती ६ संस्करणको विश्वकपमा छनोट हुन सकेको थिएन । ऊ पहिलोपटक सन् २०१५ को विश्वकपमा छनोट भएको थियो । त्यसपछि २०१९ को विश्वकप पनि खेलेको स्पेनले सेमिफाइनलसम्मको यात्रा पनि गरेको थिएन । तर, यसपल्ट भने अविश्वसनीय प्रदर्शन गरेको स्पेनले विश्वकप ट्रफी उचाल्ने सम्भावना बढेको छ ।   

उच्च लयमा रहेको स्पेनले अब उपाधिका लागि दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार अस्ट्रेलिया र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।



  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार ११:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया