logo-img

सारुक ताम्राकारको अन्तिम म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दिवंगतत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको सांगीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) आज सार्वजनिक गरिएको छ । 

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारको अन्तिम इच्छा नै चलचित्र रिलिज गर्नु रहेको बताए । ‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, उहाँको अन्तिम कामलाई सांगीतिक श्रव्यदृश्यकै माध्यमले भए पनि बाहिर ल्याएका छौँ ।’ 

गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले जानकारी दिए । 

‘हामीले बर्दियामा अभिनेता ताम्राकारको दृश्यलाई खिचेका थियौँ । काठमाडौंको सेड्युलमा उहाँको अलि पछाडि थियो । त्यही क्रममा दुःखद घटना घट्यो,’ निर्देशक गुरुङले भने, ‘यो हाम्रो निर्माण समूहको तर्फबाट अभिनेता ताम्राकारलाई श्रद्धाञ्जलि हो । उहाँको काम सबैले हेर्न पाऊन् भन्ने लगेर सार्वजनिक गरेका हौँ ।’



कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता मनीष श्रेष्ठलगायत उपस्थित थिए । 

आमा ताम्राकारले आफ्नो छोराको अन्तिम कामलाई दर्शकसम्म पुर्याउने निर्माण समूहलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘उसले यो चलचित्रको लागि निकै समय खर्चिएको थियो । यसमा आफ्नो पात्रलाई लिएर ऊ निकै मिहिनेती थियो । यसलाई ठूलो पर्दामा हेर्ने रहर हुँदै गर्दा पनि आज यहाँ हेर्नुपर्यो ।’ 



आफ्ना पति सानु ताम्राकार यही वियोगका कारण बिरामी भएर अस्पतालमा रहेको जानकारी दिँदै उनले छोरा ताम्राकारको अनुसन्धानमा खटिएका प्रहरीलाई सत्यतथ्य छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरिा् । 

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टि श्रेष्ठले पुराना सम्झनालाई स्मरण गरिन् । ऊसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भन्ने स्विकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग छ । हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ,’ अभिनेत्री श्रेष्ठले भनिन् । 



चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाभएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायत चलचित्रमा अभिनय गरिसकेका थिए । अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए । 

  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया