logo-img

जिल्ला तहमा अधिकार प्रत्यायोजन गरौँ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जिल्लाका विवाद र समस्या केन्द्रमा जाँदा केन्द्रनै ध्रुवीकृत हुने अवस्था बन्ने भएकाले कांग्रेसलाई विकेन्द्रीकरण गरेर जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए । 

‘पार्टीमा रहेको केन्द्रमुखी र केन्द्रीकृत अभ्यासलाई राज्य संरचना विकेन्द्रित भएजस्तै विकेन्द्रीकरण जरुरी छ,’ उनले भने, ‘जिल्लाका विवाद र समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने व्यवस्था गर्नुपर्दछ ।’ 

अधिवेशनको समयमा पार्टीभित्र गुटबन्दी हुनु स्वाभाविक भएको बताउँदै केन्द्रीय सदस्य कोइरालाले अधिवेशनपश्चात् गुटहरु स्वतः निष्क्रिय भएर जाने जिकिर गरे । उनले कांग्रेस सक्षम भए कसैसँग पनि गठबन्धन गर्नु नपर्ने धारणा राखे । 

‘कांग्रेस आफ्नो खुट्टामा आफैँ उभियो भने कसैले पनि हल्लाउन सक्दैन, कोइरालाले भने, ‘हामी एक भयौँ भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।’ 

आफू मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै उनले आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गरे । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिए । 



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानबारे पुनःविचार गर्नुपर्ने बेला आएको बताए । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डोर्याइरहेको भन्दै उनले निर्वाचन प्रणालीका बारेमा सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गरे । 

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतम र उर्मिला थपलिया, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले धारणा राखेका थिए । 



  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया