logo-img

म पनि अष्ट्रेलिया जान्छु

एक वर्षअगाडि म ११ मा पढ्दै थिएँ । त्यतिबेलादेखि गाउँघरतिरको चौतारीमा गफ गर्ने मान्छेहरु मलाई प्रश्न गर्थे । तँ पनि १२ सकेर विदेश जाने त होलास् नि ! मलाई किन यस्तो साेधेको होला भन्ने लाग्थ्यो । 

अहिले मेरो पनि १२ कक्षाको परीक्षा सकियो । नतिजा पनि आइसक्यो । अब ती चौतारीमा बसेका मानिसहरू किन त्यस्तो कुरा गर्दथे भन्ने बल्ल बुझ्दै छु । साथीहरू सबैजसो विदेश जाने तरखरमा छन् । आफ्नो र परिवारको स्तरअनुसार कोही जापान, कोरिया त कोही अमेरिका, अष्ट्रेलिया, क्यानडा । मलाई पनि घरको संघर्ष देख्दा दुबई, कतार भए पनि गइदिमजस्तो लाग्छ । सानैबाट मिहिनेती र अब्बल विद्यार्थीको उपाधि पाएको म परीक्षामा नतिजा पनि अब्बल नै आयो । 

छिमेकी अंकलका छोरा चार वर्षअगाडि अष्ट्रेलिया गएका थिए । कहिलेकाहीँ नेपालमै हुँदा गफगाफ हुन्थ्यो । अहिले त म्यासेजको रिप्लाई गर्न पनि फुर्सद पाउँदैनन्, कति व्यस्त होलान् पैसा छाप्नमा भन्ने सोच्छु । अंकलको गफगाफ सुन्छु, छोरो गएपछि त बोलिचाली नै उच्चस्तरीय छ, पैसाको तागत कति छ है । सोचेँ अनि जिल्ल परेँ । अब त म पनि अष्ट्रेलिया जान्छु भन्ने मन गराएँ । 

के ? किन ? कसरी ? केही थाहा थिएन । मेरो अब सम्पूर्ण ध्यान अष्ट्रेलिया कसरी पुग्न सकिन्छ भन्नेमा थियो । १२ कक्षा सकिएपछि त आनन्द हुन्छ भन्ने मानिसलाई फेरि एकपटक भेट्न मन छ, पिट्न त अल्लि मिलेन । तर,  गाली अवश्य गर्थे‌ होला, आजभोलि मेरो आत्तिएको मनसँगको मेरो संवाद यस्तै हुन्छ । 

धेरै समय भएको थियो, घरबाट ननिस्किएको । ११–१२ पढ्दाका साथीहरु चिया पसलमा भेट्ने योजना बनायौँ र ठिक दिउँसो ११ बजे म त्यहाँ पुगेँ । हामी गफ गर्दै चियाको आनन्द लिइरहेका थियौँ । त्यत्तिकैमा मेरा कानले अर्को टेबुलमा बसिरहेका मान्छेको गफ सुन्न पुग्यो । कान पनि कस्तो अचम्मको हुने रहेछ । आफूले चाहेको कुरा त भिडभाडमा पनि सुन्ने । उनीहरुको गफ अष्ट्रेलिया, क्यानाडा, अमेरिकाकै थियो । सायद उनीहरु पनि १२ को नतिजा हातमा लिएर बसेका होलान् । 

विदेशको कुरा सुनेपछि म अब भौतिक रुपमा मात्र आफ्ना साथीहरुसँग थिएँ, मेरा कान–आँखा उतै अर्को टेबुलमा पुगिसकेको थियो । एक मनले सोचेँ, अर्काका कुरा यसरी सुन्न हुन्छ त ? फेरि भित्रबाट जवाफ आयो ज्ञानेन्द्रियको काम नै ज्ञान लिने त हो नि ! हुन पनि हो, यो मेरो मनले ठिकै कुरा गर्छ । मनमनै मनसँग मुस्कुराएँ । कुनै कुरा नि नछुटाई जसरी कानहरु टाठो भइरहेका थिए ।



फेरि कानलाई प्रश्न गर्न मन लाग्यो । कक्षामा त सरले चिच्याउँदा नि सुन्दैनस् । मेरा कान पनि के कम मनले नै ह्या ! भनेसि मैले सुन्न के कर पो भन्छ  । ए ! कान मलाई डिस्टर्ब नगर् भन्न त मन थियो नि तर के गर्नु सुन्ने कानले नै हो । उसैलाई गाली गरे झन् निहुँ खोज्ला भन्ने पो डर भयो । त्यसैले कानसमक्ष मैले त्यो टेबुलको कुरा सुनिदिन अनुरोध गरेँ । 
 
क्या ! मस्त जिन्दगी कोही चुरोटमा मस्त छन् । कोही मोबाइलमा मलाई मार्यो ! बचाऊ भन्दै थिए । पक्कै अहिले चलेको कुनै गेम होला भन्ने ठानेँ । आफ्नो त राम्रो मोबाइल पनि थिएन । न त चुरोट तान्ने बानी नै । मोबाइल होस् कसरी पठाइदिने विदेशमा कोही थिएनन् । चुरोट तानौँ कसरी बुबा–आमाको आशा र विश्वास धुवाँमा उडाउन जायज लाग्दैन थियो ।

यस्तै सोच्दै थिएँ । त्यत्तिकैमा उनीहरु उठेर हिँड्न तयार भए । उनीहरुमध्ये एउटाले हिँड् आज रिडिङको पढ्ने हो जाम भन्दै थियो अनि थाहा पाएँ उनीहरु पक्कै विदेश जाने तयारीमै रहेछन् । आज बल्ल आफूले चाहेको सुन्न पाएसि मन हर्षित भयो । एक हप्तालाई पाएको पकेट खर्च हौसिएर आजै तिरेर सक्काएछु । साथीहरु अचम्म मान्दै मलाई हेर्दै थिए, अनि म उनीहरुलाई मनैमन भन्दै थिएँ ‘अष्ट्रेलिया गएसि यस्ता चिया–सिया त केटाहरुलाई कति खुवाइदिन्छु’ । 



आफ्नो अनुहार हेर्न ऐना त थिएन त्यहाँ, तर मलाई थाहा थियो, मेरो अनुहार अष्ट्रेलियाको भिसा आएर सपिङ गर्न हिँडेजस्तै फुरुंग देखिएको थियो । नहोस् पनि कसरी, मनले योजना बनाइसकेको थियो । भोलि यही समयमा यहाँ आएर तिनीहरुसँग विस्तृत जानकारी लिन्छु अनि अष्ट्रेलिया जाने सपनाको सुरुवात गर्छु भनेर । त्यत्तिकैमा हामी त्यहाँबाट निस्कियौँ र आजलाई छुट्टिने निधो गर्यौं । 

फर्किंदा माइक्रोबसको गति त धेरै थिएन, तर अनेक प्रश्नहरु मनमा प्रकाशको गतिभन्दा तेज दौडिरहेको थियो । म मनलाई सम्झाउँदै थिएँ विदेशको यात्रा सोचेजस्तो सजिलो त छैन भनेर । मनले मलाई नै जवाफ फर्काउँछ– ‘देशको अवस्था हेर्दा विदेश जान मन लाग्छ, अनि कैयौँ ती मेरा बिदेसिएका साथीभाइ अनि आफन्तहरु विदेश छिरेपछि नेपाल नफर्किएको सम्झन्छु । त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलमा आफ्ना छोराछोरी बिदाइ गर्न गएका ती कैयौँ आमाबुवाहरुको अनुहार सम्झन्छु । अनि फेरि अर्को मनले सरकार चलाइरहेका नेताहरुको अनुहार सम्झन्छु, उपचार गर्न पैसा नभएर फेसबुकमा सहयोगको हात फैलाइरहेका पोस्टहरु सम्झन्छु अनि फेरि सम्झन्छु बाबुआमाको सहरमा घर बनाउने सपना अनि विदेशमा गएर पैसा पठाएको कल्पना गर्छु ।’ 

म एक्कासि झस्किएँ ! म सवार बसको पछडिको सिटबाट कसैले मेरो मनसँगको संवाद ध्यान दिएर सुनेजस्तै लाग्यो । पछाडि फर्केर हेर्ने हिम्मत जुटाउन मलाई धेरै कठिन भयो । घरनजिक आउने बेला पनि भयो, बाहिर घामले पनि डाँडा काटिसकेको थियो । हिम्मत जुटाएर पछाडि फर्किएँ । मेरो मन एकाएक डरले भरियो र अनुहारको सबै बत्ती बन्द भयो । क्रमश: ...

(डा.पराजुली हब इन्टरनेशनल एजुकेशन, बुटवलका प्रबन्ध निर्देशक हुन् ।)

  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया