logo-img

छैटौँ विश्व संस्कृत दिवस मनाइँदै
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा ऋषितर्पणीको दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरूपमा गरेका छन् ।  

नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेसनल र विश्व भुटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम युकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।

नेपालमा छैटौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाडौंमा आयोजना गरिएको छ। देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । 

नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा छैटौँ विश्व संस्कृत दिवस मनाउन कार्यक्रम तय भइसकेको जरोकिलो महाअभियानका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापकसमेत रहनुभएका निर्देशन समिति संयोजक डा. निर्मलमणि अधिकारीले बताए ।

श्रावण शुक्ल पूर्णिमा ऋषिसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुआत गरिएको हो ।



प्राचीनकालमा शैक्षिक सत्रको सुरुआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ ।  




  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार ७:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया