logo-img

कोसीमा परमादेश जारी गरेर सर्वोच्चले गलत काम गर्याे : शशांक
'मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक'

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताएका छन् । कांग्रेस रामेछापले मन्थलीले एक सय १० औँ बिपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले गुटकै कारण पार्टी कमजोर भएको स्विकार्दै कांग्रेस पार्टीविना गुट र विनासाहारा एक्लै लड्न तयार रहनुपर्ने बताए।

उनले भने, 'परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ । म अठोटका साथ भन्छु, कांग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिलै पनि हराउन सक्दैन ।'

अहिले कांग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै नेता कोइरालाले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए।

अर्को प्रस‌गमा नेता कोइरालाले कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने सङ्केत पनि दिए। दशैँलगत्तै आफू कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्याङ्कनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि उनले स्पष्ट पारे।

कांग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उनको भनाइ छ । बिपीले ७० वर्ष अगाडि दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि कांग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गरे।

उनले कोसी प्रदेशमा कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीका लागि परमादेश गरेर सर्वोच्च अदालतले गलत काम गरेको पनि बताए। राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपाटीले मुलुकमा राजनीतिक खतरा बढाएको पनि कोइरालाको भनाइ छ ।



उनले राजनीतिक पार्टीहरूले एकआपसमा छलफल गरेर समस्याको समाधान निकाल्नका लागि पनि सुझाव दिए । उनले भने, 'राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’ तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु पनि गलत निर्णय भएको पनि नेता कोइरालाले बताए।

कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षपाती भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको पनि बताए।



  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया