logo-img

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेट गरे । 

मन्त्री बस्नेतले उनीहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताए । ‘उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताउनुभयो र अस्पतालको सेवासँग सबैजना सन्तुष्ट हुनुहुन्छ ।’

वीर अस्पताल विशिष्ट व्यक्तित्वका लागि मात्र होइन भन्दै उनले सबै सेवाग्राहीको विश्वास बढेको बताए । ‘अहिले सोहीअनुसार चाप बढेको छ,’ उनले भने, ‘मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै सबैको सरल र सहज पहुँचका लागि निरन्तर लागि परेको छ ।’

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । ‘उहाँको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ,’ उपकुलपति प्रा.डा. बस्नेतले जानकारी दिए । 

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेंगी तथा मुटुको समस्याले अस्पताल भर्ना भएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार २१:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया